
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेला ओलीले अध्यादेश नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार आयोजित प्रदेश १ का नेताहरूको भेलामा यस्तो निष्कर्ष निस्किएको केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।
'अध्यादेश फिर्ता नभए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भयो,' खतिवडाले सञ्चारकर्मीहरूसँग बोल्दै भने, 'प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।'
उनले प्रचण्ड र ओली दुवैको प्रतिवेदन सबैले पढेको र ओली गलत रहेको निष्कर्षमा आफूहरू पुगेको बताए । 'हामीले अध्यक्ष प्रचण्डलाई भन्यौं, तपाईंले भनेको सत्य हो, ओलीले भनेको असत्य हो,' खतिवडाले सुनाए ।
भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टीलाई विभाजित हुन नदिने तर गलत प्रवृत्तिका विरुद्धमा लडिरहने बताएका थिए ।
'सम्बोधन गर्ने सबै नेताहरूले सबैले पार्टी एकताका सैद्धान्तिक पक्ष, ऐतिहासिक सन्दर्भ, अबको बाटोलगायतका विषयमा कुराकानी गर्नुभयो,' खतिवडाले भने, 'सबैको निष्कर्ष एउटै हो, पार्टीलाई विभाजित हुन नदिने र गलत प्रवृत्तिका विरुद्ध लडिरहने ।
खतिवडाले आजको भेला गुट भेला नभएको दाबी गरे । 'विधि र पद्धतिमा चल्नुपर्छ भन्नेहरूको भेलालाई गुट भेला भन्न मिल्दैन,' उनले भने ।