०९ असार २०८३, मंगलबार

‘चिनी मिलकै कारण जोगी भएँ’

पुस ४, २०७७
‘चिनी मिलकै कारण जोगी भएँ’
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

‘‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेती किसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ । अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म चाहिँ खेती गरेर खाने हातका लागि धेरै खर्च र दैनिकी धान्न नसकेर बिरक्तिएँ ।’’

माइतीघरमा धर्ना दिइरहेका उखु खेतीले बिचल्लीमा परेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाइरहनुभएका सर्लाही, सिसौटिया–११ का रामानन्द यादवको अनुभूति हो यो । उनी ठिही नधान्ने गेरु वस्त्र, मागी खाने भाँडा र लौरोसहित किसानको त्यो आन्दोलनमा हरेक दिन सहभागी छन् ।

गुलियो रस आउने नगदे बाली भनिने उखु रोपेर नुनिलो आँसु रोइरहेका किसानबीच एकजना गेरु वस्त्रमा सहभागी भेटिएपछि उनका बारेमा जान्ने उत्सुकता जाग्यो । संसारप्रतिको मोह त्यागेर घुमी हिँड्ने जोगीको प्रवृत्तिभन्दा फरक यादव किसान आन्दोलनमा देखेर उनीसँग जिज्ञासा जिज्ञासा राख्दा उनले आफू जोगी हुनुपरेको कारण खोले ।

त्यसपछि उनले उखु खेतीका कारण आफू जोगी हुनुपरेको विवरण सुनाउन थाले । गत वर्ष माइतीघरमै धेरै दिन चलेको उखु किसानको आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा घाइते भए ।

उखुको ३३ हजार रुपियाँ बक्यौता लिन सर्लाहीदेखि राजधानीको माइतीघरसम्म सास्ती बेहोरेर सरकार र चिनी मिल साहूको आश्वासन लिएर घर जाँदा बाटामै दुर्घनामा परेपछि घरको सट्टा वीर अस्पतालको ट्रमा सेन्टर फर्किनुप¥यो ।

डाक्टरले उनको दाहिने पाखुरामा स्टिलको पाता राखेर उपचार गर्दाको खर्च साढे दुई लाख रुपियाँ लाग्यो । नाजुक आर्थिक अवस्थाका कारण उखुको पैसा पाउन आन्दोलनका लागि घरबाट निस्कन पनि चर्को ब्याजमा ऋण लिनुप¥यो ।

चिनी मिलका साहूले २०७१ सालदेखिकै पैसा नदिएर दुःख दिएको छ । हातको उपचार गर्न घरको सारा सामान बिक्री गर्नुपरेको बताए ।

‘‘स्टिल राखेको हातले काम गर्न सक्दिनँ, झिक्नका लागि पैसा छैन । मेरो विवाह पनि भएको छैन । उखु खेतीले मलाई जोगी बनायो’’, यादव भन्छन् ।

“साथीहरू आफ्नो आवाज सरकारलाई सुनाउन काठमाडौँको माइतीघर आउने भएपछि मन थाम्न सकिनँ । यसैले म पनि आन्दोलनमा सहभागी भएँ” यादवको भनाइ छ ।

त्यसैगरी कपिलवस्तुका ज्येष्ठ नागरिक पेचु अहिर ओढ्ने पातलो सिरकसहित आन्दोलनमा सहभागी छन् । पुसको चिसोमा सात दिनदेखि नै माइतीघरमा आन्दोलनमा सहभागी हुँदा उनी बिरामी परिसके।

औषधिसहित सिरक ओढेर दिनभर आन्दोलनमा सहभागी अहिरलाई सँगै आएका साथीभाइले घर फर्कन आग्रह गर्दासमेत मानेका छैनन् । राजधानीको लुगलुग काम्ने चिसोमा उहाँको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रँदै गएको उखु किसान अनुपकुमार चौधरी बताउँछन् ।  गोरखापत्र दैनिकमा शिवा तामाङले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्