
पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधातर्फ दोस्रो पटक मनोनयनमा परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले पुस २८ गते आयोजना गर्ने १७ औं संस्करणमा शुक्रबार राजधानीमा सार्वजनिक गरिएको पिपल्स च्वाइसको मनोनयनमा गौरिका र सावित्रासहित करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ परेका छन् । २०७६ सालभर गरेको प्रदर्शन र लोकप्रियताको आधारमा उत्कृष्ट पाँच खेलाडीको मनोनयनभित्र उनीहरू परेका हुन् । गौरिका र सावित्राबाहेक अरू अवार्डका नयाँ अनुहार हुन् ।
गौरिका लन्डनमै रहेकाले चार खेलाडीमात्र कार्यक्रममा उपस्थित थिए ।
१३ औं सागकी चार स्वर्णधारी गौरिका यस विधामा २०७३ को मनोनयनमा परेकी थिइन् । सागमा रजत विजेता नेपाली टोलीकी सदस्य सावित्राले लगातार दोस्रो वर्ष पिपल्स च्वाइसको मनोनयन बाजी मारिन् । गत वर्ष उनले महिला वर्ष खेलाडीतर्फ उपाधि नै जितेकी थिइन् । उनी २०७३ र ०७४ मा सोही विधातर्फ मनोनयनमा परेकी थिइन् ।
यस विधाको विजेता चयन आमसर्वसाधारण, प्रशिक्षक र खेलपत्रकारको मतबाट गरिनेछ । सर्वसाधारणले ई–सेवा र एनएसजेएफको फेसबुकमार्फत मत दिन पाउनेछन् । ई–सेवा एपमार्फत पाँचै खेलाडीलाई मत हाल्न पाइने व्यवस्था पहिलोपल्ट गरिएको हो । ई–सेवामार्फत प्राप्त मतलाई ५० प्रतिशत मानिने मञ्चले जनाएको छ । एनएसजेएफको आधिकारिक फेसबुक पेजमार्फत आउने मत २५ प्रतिशत, खेलपत्रकार र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत २५ प्रतिशत गणना गरिने प्रावधान रहेको जनाएको छ ।
गौरिकाले सागमा कीर्तिमानी ४ स्वर्णका साथै २ रजत र २ कांस्य पनि जितेकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर एकै प्रतियोगितामा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान पनि बराबरी गरेकी थिइन् ।
करातेका मन्डेकाजीले सागमा एकै दिन दुई स्वर्ण जित्ने कीर्तिमान बनाएका थिए । सागको स्वर्णमय सालमा एकभन्दा बढी स्वर्ण जित्ने चार खेलाडीमध्ये हुन् उनी । बंगलादेशमा भएको साफ कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य जितेका मन्डेकाजी नवौं थाइल्यान्ड ओपनमा रजतसहित उत्कृष्ट खेलाडी चुनिएका थिए ।
फुटबलकी सावित्राले सागको रजतबाहेक इन्डियन वुमन्स लिगमा गोकुलम केरला र त्यसअघि सेथु एफसीलाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । उनी महिला अन्तर्राष्ट्रिय फुटबलमा नेपालकी लागि सर्बाधिक गोलकर्तासमेत भएकी छन् ।
अरुणाको कप्तानीमा नेपालले १३ औं सागमा महिला भलिबलतर्फ कीर्तिमानी रजत र एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जितेको थियो । सागमा नेपाल भारतसँग फाइनलमा पराजित भएको हो । नेपालले एसियाली स्तरमा पहिलो पदक जित्दा उनको भूमिका विशेष रहेको थियो । पिपल्स च्वाइसमा उपाधि जित्नेमा भलिबलको वर्चस्व छ । महिला भलिबल खेलाडीले पाँचपल्ट यो उपाधि जितिसकेका छन् ।
त्यस्तै महिला बास्केटबलले १३ औं सागमा फाइनलसम्म यात्रा गर्दा नेपालको नेतृत्व सदिनाले गरेकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा विभागीय टोलीलाई पछि पार्दै प्रदेश ३ लाई रजत दिलाउन सदिनाको भूमिका महत्त्वपूर्ण थियो ।
घरेलु बास्केटबलमा प्रशिक्षकको जिम्मेबारी सम्हाल्न थालेकी उनले एनबीएल लिगमा समृद्धि गुरिल्लाजलाई फाइनलसम्म पुर्याएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।