
विश्वभरमा भ्याक्सिनको चर्चा चलिरहेका बेला कोरोना कहर कैयौं देशमा जारी छ । यसैबीच बेलायतमा एक चिन्ताजनक खबर आएको छ ।
यहाँ कोरोना भाइरसको एक नयाँ रुप पहिचान गरिएको छ । जो बेलायतको दक्षिण पूर्व क्षेत्रमा तिव्र गतिमा फैलिरहेको छ ।
एजेन्सीको एक रिपोर्टअनुसार बेलायतका स्वास्थ्य सचिव म्याक ह्यांककले देशमा कोरोना भाइरसको नयाँ रुपमा पहिचान गरिएको बताएका छन् ।
उनले हाउस अफ कमन्समा भनेका छन्, ‘कोरोना भाइरसको नयाँ रुपको पहिचान गरिएको छ । अहिलेसम्म दुई हजार मानिस यसको प्रभावमा परिसकेका छन् ।’
उनले वर्तमान अवस्थामा रहेको कोरोना भाइरसको तुलनामा नयाँ रुप निकै तिव्र गतिमा फैलिएको बताएका छन् ।
उनले भने, ‘अहिले हामीसँग यस्तो कुनै प्रमाण छैन कि यो नयाँ भाइरसमाथि भ्याक्सिनको कुनै प्रभाव पर्नेछ । यसको पहिलो प्रभाव एक साताअघि केन्टमा देखिएको थियो ।’
बेलायतका मुख्य चिकित्सा अधिकारीले शनिबार नयाँ भाइरस तिव्र गतिमा फैलिएको पुष्टि गरेका हुन् । बेलायतले यस सम्बन्धमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइसकेको छ ।
वैज्ञानिक यो भाइरस कहाँबाट फैलियो र यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन गरिरहेका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले लण्डनसमेत अन्य क्षेत्रमा पनि चौथो चरणको लकडाउन गर्ने घोषणा गरेका छन् । उनले पहिलोपटक पर्वका बेला अलग हुने बताए ।