
चीनको कमान्डर अफ वेस्टर्न थिएटर कमान्ड हेर्नका लागि नयाँ सैन्य जनरल नियुक्त गरिएको छ ।
चिनियाँ सेनाको सर्वोच्च निकाय सेन्ट्रल मिलिटरी कमिसनको अध्यक्षता गर्ने चीनका राष्ट्रपति सी चिनफिङले जनरल झाङ सुदोङलाई कमान्डर अफ द वेस्टर्न थिएटर कमान्ड नियुक्त गरेको बेइजिङको सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् ।
सीले चारजना वरिष्ठ चिनियाँ सैन्य तथा सशस्त्र प्रहरी अधिकृतलाई बढुवा गरेका छन् । तीमध्ये जनरल झाङलाई वेस्टर्न थिएटर कमान्डको जिम्मेवारी दिइएको हो ।
वेस्टर्न थिएटर कमान्डले तिब्बत र सिन्जियाङ सीमा हेर्ने गरेको छ ।
भारतसँग सीमाविवाद चर्किरहेको बेलामा जनरल झाङलाई नियुक्त गर्नु अर्थपूर्ण रहेको विश्लेषकहरूको भनाइ छ ।
झाङका बारेमा विशेष जानकारी प्राप्त भएको छैन तर उनले चिनियाँ जनमुक्ति सेनाका अन्य थिएटर कमान्डको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनी जनरल झाओ जोङ्चीको स्थानमा आउन लागेका हुन् । जनरल झाओले सन् २०१७ मा भारतीय सेनासँग दोक्लम विवाद हुँदा वेस्टर्न थिएटर कमान्ड सम्हालेका थिए ।
लद्दाख गतिरोध पनि जनरल झाओकै निगरानीमा भएको हो ।