२८ जेठ २०८३, बिहीबार

नेपालको संसदीय इतिहास– विगतमा यसरी भएको थियो संसद् विघटन

नेपालको संसदीय इतिहास– विगतमा यसरी भएको थियो संसद् विघटन

नेपालको संसदीय इतिहासमा आइतवार एउटा अर्को ठूलो राजनीतिक घटना भयो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको मिति घोषणा गरेकी छन् ।

पार्टीभित्रको कलहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार मन्त्रिपरिषद् बैठकमा संसद् विघटनको प्रस्ताव ल्याएका थिए । केही मन्त्रीहरूले असहमति जनाएपनि सो प्रस्ताव पारित भयो ।

नेपालको संसदीय इतिहासमा अहिलेसम्म बनेका प्रायः संसद्ले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।

२०१५ सालमा पहिलोपटक सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको कार्यकाल दुई वर्ष पूरा हुन नपाउँदै संसद् विघटन भयो ।

प्रधानमन्त्री बीपी कोइरालासँगको टकरावपछि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् विघटन गरेका थिए, पुस १ गते ।

महेन्द्रले कु गरेको सो दिनलाई कालो दिवसको रूपमा मनाउने गरिन्छ ।

संसद् विघटन गरेर पञ्चायती व्यवस्था शुरू भएको थियो । ३० वर्षसम्म पञ्चायत चल्यो । पञ्चायतविरुद्ध दलहरूले लामो समय संघर्ष गरे ।

२०४६ सालमा जनआन्दोलन सफल भएपछि २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन भयो । कांग्रेसले एकल बहुमत ल्याएको संसद्ले कार्यकाल पूरा गर्न पाएन ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर २०५१ सालमा मध्यावधि चुनावको घोषणा गरे ।
गिरिजाप्रसाद कोइराला सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन महेन्द्र नारायण निधि, कुवेर शर्मा, चिरञ्जीवी वाग्लेलगायत ३६ जना अनुपस्थित भएपछि फेल भयो ।

त्यसपछि गिरिजाले मध्यावधि निर्वाचन घोषणा गरे ।

पूर्वसभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाट नेताहरूको सत्तालिप्साकै कारण २०२८ सालको संसद्ले पूरा कार्यकाल काम गर्न नपाएको स्मरण गर्छन् ।

‘त्यो निर्णय कति अविवेकी थियो भन्ने कुरा त मध्यावधि निर्वाचनको नतिजाले देखाइदियो,’ रानाभाटले लोकान्तरसँग भने ।

मध्यावधि चुनावपछि तत्कालीन नेकपा एमालेले ९ महिना अल्पमतको सरकार बनायो । मनमोहन अधिकारीले पनि संसद् विघटन गरेका थिए ।

अल्पमतको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याइएको थियो । तर सर्वोच्चका प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय लगायतको इजलासले उल्टाइदियो । त्यसपछि त्यो संसदले ५ वर्ष पूरा गर्‍यो ।

२०५६ सालमा आम निर्वाचन भयो । आम निर्वाचनमा नेपाली कांग्रेसले फेरि बहुमत ल्यायो । २०५ मध्ये ११३ सीट ल्याएको थियो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुरा भयो । गोविन्दराज जोशी र खुमबहादुर खड्काले मन्त्रिपरिषद् बैठकमा असहमति जनाएपछि संसद विघटनको दबाब भएपनि संसद्मा राजीनामा गरेका थिए ।

कांग्रेसको विवादका कारण यो संसद् दुई वर्षमै विघटन भयो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पद अप्ठ्यारोमा परेपछि २०५८ साल जेठमा संसद् विघटन गरे ।

सभापति गिरिजाप्रसाद कोइरालाले संकटकाल लगाउने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको विरोधमा पार्टी सदस्यबाट निस्कासन गरे । त्यसपछि देउवाले संसद् विघटन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरे । संसद् विघटनसँगै देउवाले मध्यावधि चुनाव घोषणा गरे, तर चुनाव भएन ।   

देउवाले संसद् विघटन गरेपछि तोकिएको समयमा चुनाव सम्पन्न हुन सकेन । तोकिएको समयमा चुनाव हुन नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम घोषणा गरी लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन गरे ।

चन्द सरकारले पनि चुनाव गराउन सकेन, तर माओवादीसँग वार्ता शुरू गर्‍यो । चन्दपछि अर्का खुंखार पञ्च सूर्यबहादुर थापा प्रधानमन्त्री बने । सूर्यबहादुर थापा सरकारविरुद्ध देउवाको कांग्रेस प्रजातान्त्रिकले आन्दोलन गर्‍यो ।

राजाले देउवालाई फेरि प्रधानमन्त्री नियुक्त गरे । गोरखाका राजाबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया देउवाले दिए । देउवाले फेरि पनि माओवादीसँगको वार्ता निष्कर्षमा पुर्‍याउन सकेनन्, न त चुनाव गर्न सके । त्यसपछि देउवा फेरि अपदस्थ भए र राजाले प्रत्यक्ष शासन हातमा लिए ।

राजाको कदमविरुद्ध सात दल र माओवादीबीच १२ बुँदे सम्झौता भयो । संसद् पुनःस्थापनाको माग राख्दै भएको आन्दोलन गणतन्त्र स्थापना गर्ने आन्दोलनमा रूपान्तरण भयो ।

२०६३ साल वैशाख ११ गते शाही घोषणामार्फत विघटित प्रतिनिधि सभाको पुनःस्थापना भयो । पुनःस्थापित प्रतिनिधि सभाले प्रतिनिधि सभा घोषणापत्रमार्फत राजाका अधिकार कटौती गर्‍यो । अन्तरिम संविधान जारी गर्दै राजाका थप अधिकार कटौती गर्दै गणतन्त्र घोषणा गर्ने प्रस्ताव पारित गरियो ।

अन्तरिम संविधानअनुसार संविधान सभाको चुनाव भयो । संविधान सभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित गर्‍यो, तर त्यो संविधान सभा पनि विघटनको शिकार बन्यो ।

 संविधान सभाको कार्यकाल दुई वर्ष तोकिएको थियो । तोकिएको मितिमा संविधान बन्न नसकेपछि संविधानसभाको कार्यकाल थप गरियो । थपिएको म्याद सकिनु र पुनः थप नहुनुले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ जेठ १४ गते पहिलो संविधान सभा विघटन हुन पुग्यो ।

त्यसपछि २०७० साल मंसिरमा दोस्रो संविधान सभाका लागि चुनाव भयो । २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि २०७४ मंसिर २१ गते प्रतिनिधि सभाको चुनाव भएको थियो ।

प्रतिनिधि सभाले कार्यकाल पूरा नगर्दै सरकारको सिफारिशमा राष्ट्रपतिले संसद् विघटन गरेकी छन् । २०७४ फागुन २० गते सांसदहरूले शपथ लिएका थिए । आगामी फागुन २० मा संसदले तीन वर्ष पूरा गर्दै थियो ।

संसद् विघटनका लागि सरकारले गरेको सिफारिश असंवैधानिक भएको भन्दै संविधानविद्हरूले प्रश्न उठाएका छन् ।

यो कदम कहाँ पुगेर टुंगो लाग्छ थाहा छैन, तर संसदीय लोकतन्त्रको इतिहासमा यो महत्त्वपूर्ण घटनाको रूपमा दर्ज भएको छ ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा कम्युनिस्टहरूले बहुमत पाएर पनि सरकार चलाउने क्षमता राख्दैनन् भन्ने आज प्रमाणित भएको बताउँछन् ।

‘मैले संसद्मा एक वर्षअगाडि नै संसद्को कार्यकाल पूरा हुँदैन भनेर घोषणा गरेका थिए, आज प्रमाणित भएको छ, कम्युनिस्टहरूको हातमा संसदीय व्यवस्थाले काम गर्न सक्दैन,’ खतिवडाले भने ।

salt training

कमेन्ट गर्नुहोस्