
भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहले पश्चिम बंगाल भ्रमणको पहिलो दिन शनिवार तृणमूल कांग्रेस, वाम दल र कांग्रेसका बागीहरूलाई भाजपामा समावेश गराए ।
यिनमा सबभन्दा महत्त्वपूर्ण नाम शुभेन्दु अधिकारी हो । उनी पश्चिम बंगालको बहालवाला सरकारका मन्त्री थिए ।
पूर्वमा रहेको मिदनापुर जिल्लामा राजनीतिक प्रभाव भएको परिवारका उनी सदस्य हुन् । उनी लोकसभा सांसद हुन् र नन्दीग्राममा तृणमूल कांग्रेसका विधायक थिए ।
नन्दीग्राममा भूमि अधिग्रहणविरुद्धको आन्दोलनको आधार खडा गरिएको थियो । त्यसले ३४ वर्षदेखि वाम दलहरूको शासन अन्त्य गरेर ममता बनर्जीलाई सत्तामा ल्याइपुर्याएको थियो ।
शुभेन्दु समेत टीएमसीका ठूला नेता भाजपामा आएपछि कत्तिको फाइदा हुन्छ र ममताको किल्ला भत्काउनका लागि भाजपालाई कत्तिको सहज छ भन्ने कुरा विश्लेषणयोग्य छ ।
देशको सबभन्दा धेरै जनसंख्या भएको राज्य पश्चिम बंगाललाई पाँच भागमा बाँड्न सकिन्छ । दार्जीलिङ, कूचविहार र जलपाईगुडी जिल्लाको पहाडी क्षेत्र एउटा हो । अर्को भनेको उत्तरी जिल्ला मालदा र दिनाजपुर हो । मध्यमा रहेको मुर्शिदाबाद र बीरभूम तेस्रो क्षेत्र हो । पश्चिम मिदनापुर, पुरुलिया र बाँकुरा छोटानागपुर चौथो क्षेत्र हो ।
राज्यको सबभन्दा ठूलो उपक्षेत्र दक्षिण बंगाल हो र त्यसमा ग्रेटर कोलकाता पनि पर्छ । दक्षिण बंगाल जनसंख्याको हिसाबमा धेरै घनत्व भएको क्षेत्र हो र सत्ताको साँचो पनि उसैसँग छ । दक्षिण बंगालको कुल १९ जिल्लामध्ये आठ जिल्लामा पूरा राज्यको ५७ प्रतिशत विधानसभा सीट छन् ।
सन् २०१९ को लोकसभा चुनावमा भाजपाले ४२ सीटमध्ये १८ सीट जितेर टीएमसीलाई छक्क पारेको थियो । तर दक्षिण बंगालमा ममताको पकड निकै बलियो हुनाले उनी नै फेरि सत्तामा आउने प्रबल सम्भावना छ ।
पश्चिम बंगालमा वामपन्थीहरूसँग वैचारिक रूपमा प्रतिबद्ध कोर भोटर आधार मात्र छ र त्यसले भाजपालाई कहिले पनि साथ दिने छैन । यस्तो अवस्थामा भाजपाले प्रदर्शन सुधार्नका लागि दक्षिण बंगालमा टीएमसीका हिन्दू भोटरहरू उछिट्ट्याउनुपर्ने हुन्छ । शुभेन्दु अधिकारी जस्ता नेताले भाजपालाई त्यसमा सहायता गर्न सक्छन् ।
जम्मु–कश्मीर र असमपछि पश्चिम बंगालमा नै सबभन्दा बढी मुसलमानको जनसंख्या छ । पहाडी र जंगलमहल क्षेत्रमा मुसलमान जनसंख्या कम छ भने उत्तर, दक्षिण र मध्य बंगालमा उनीहरूको संख्या बढी छ । मुर्शिदाबाद र मालदा दुई जिल्ला मुस्लिमबहुल हुन् । उत्तर बंगालको दिनाजपुरमा पनि आधा जनसंख्या मुस्लिम छ ।
दक्षिण र मध्य बंगालमा टीएमसी हिन्दू र मुसलमान दुवैको समर्थनका कारण बलियो बनेको हो । भाजपाले टीएमसीको भोटबैंकबाट हिन्दूहरू तान्ने कोशिश गरिरहेको छ भने मुसलमानहरू झन् बढी टीएमसीतिर आकर्षित भइरहेका छन् ।
विभिन्न सर्वेक्षणहरूले पश्चिम बंगालमा साम्प्रदायिक ध्रुवीकरण थप तीव्र बन्ने र हिंसा हुन सक्ने देखाएका छन् । पश्चिम बंगालमा राजनीतिक हिंसा सामान्य कुरा हो तर अहिलेको जस्तो साम्प्रदायिक रंग यसअघि देखिएको थिएन ।