पूर्वमाओवादी पृष्ठभूमिका नेकपा स्थायी कमिटी सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशलाई सही दिशा दिन र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
उनले सरकारले राम्रो काम गरिरहेको समयमा पार्टी भित्रबाटै असहयोग हुँदा संसद् विघटनको अवस्था सिर्जना भएको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीपक्षीय सांसदहरूको भेलामा सहभागी भट्टले अहिले देशका लागि ओलीको विकल्प नभएको बताएका हुन् ।
‘कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले राम्रो काम गर्दै अगाडि बढेको समयमा सरकार गिराउने खेल भए, कम्युनिस्ट आन्दोलनका लागि र देशलाई सही दिशा दिनका लागि अहिले ओलीको नेतृत्वको विकल्प छैन,’ भट्टको भनाई उद्धृत गर्दै बालुवाटार भेलामा सहभागी एक सांसदले भने, ‘तपाईं नेतृत्व गर्नुस्, हामी सबैको साथ र समर्थन हुन्छ ।’
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको भन्दै चुनावको तयारीमा जुट्न निकटस्थ नेताहरूलाई आग्रह गरेका थिए ।
उनले प्रतिनिधि सभाको विघटन आफ्नो रहर नभई बाध्यता भएको बताए ।