२१ जेठ २०८३, बिहीबार

वर्षमान पुनबारे अनर्गल प्रचार गरिएकोमा आपत्ति

वर्षमान पुनबारे अनर्गल प्रचार गरिएकोमा आपत्ति

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’बारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । 

उनका स्वकीय सचिव समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं ‘सचिन’ले सामाजिक सञ्जाल फेसबूकमार्फत आपत्ति जनाएका हुन् ।

चापागाईंले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गरेका कारण त्यसबाट डराएका केही पात्र र प्रवृत्तिले अनन्तको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गलत प्रचार गरेको उल्लेख गरेका छन् ।

चापागाईंले आइतवार मन्त्री पदबाट राजीनामा दिएका पुनले मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा सरकारी सामान नलगेको स्पष्ट गरेका छन् । चापागाईंले त्यस्तो गलत प्रचार गर्नेहरूमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउनसक्ने चेतावनी पनि दिए । 

‘मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध मन्त्रिपरिषद्मै र बाहिर समेत प्रतिवाद गर्नुभएको र सोही कारण उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको सर्वविदितै छ,’ चापागाईंले भनेका छन्, ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरूले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु । यदि यस्तै प्रचारका गलत दुस्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरूमाथि कानूनी उपचारमा जानुपर्ने अवस्था समेत आउन सक्ने जानकारी गराउँदछु ।’

salt training

कमेन्ट गर्नुहोस्