२१ जेठ २०८३, बिहीबार

नयाँ बानेश्वर भेलामा प्रचण्डको ब्रिफिङ : बिहान ५ बजे सूचना आयो, ओलीलाई कुर्दाकुर्दै विघटनको निर्णय नै भइसकेछ

नयाँ बानेश्वर भेलामा प्रचण्डको ब्रिफिङ : बिहान ५ बजे सूचना आयो, ओलीलाई कुर्दाकुर्दै विघटनको निर्णय नै भइसकेछ

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले पार्टीको गत केन्द्रीय समितिको बैठकदेखि नै पार्टी विभाजनका लागि प्रयास गर्दै आएको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सोमबार नेकपाका निवर्तमान सांसदहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए ।

‘संसद विघटन गर्दा हुँदै नभएको अधिकारको प्रयोग भएको छ । संविधानले कल्पनै नगरेको, संविधानले रोकेको कुरा प्रयोग भयो । प्रयोग भएको प्रचार गरियो, घोषणा गरियो, प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई स्वीकृति गर्ने काम गरेर यी दुइटै ठाउँबाट संविधानमाथि निकै ठूलो प्रहर भयो’, प्रचण्डले भने ।

प्रचण्डले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा सबै सांसद र जनप्रतिनिधिहरूको अधिकारको अपहरण गर्ने काम भएको समेत बताए । प्रचण्डले बैठकमा भने, ‘यो पार्टी एकता फुटाउनका लागि हाम्रो अर्को अध्यक्ष या प्रधानमन्त्री कमरेड केपी ओलीले गत केन्द्रीय समितिको बैठकपछि पटक पटक प्रयास गर्नुभयो । कहिले अध्यादेश ल्याएर पार्टी फुटाउने, कहिले कथित एमाले नामको अर्को पार्टी दर्ता गर्न लगाएर फुटाउने, कहिले अरु सबैलाई अपमान गरेर फुटाउन खोज्ने गर्नु भएको थियो । हामीले पटकपटक बचाउने गरेका थियौं ।’

उनले आइतबार संसद विघटन हुँदैछ भन्नेबारे आफूले बिहान ५ बजे नै सूचना पाएको उल्लेख गर्दै सो कदम रोक्नका लागि निरन्तर प्रयास गर्दा सफल हुन नसकेको बैठकलाई जानकारी गराए । उनले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई छलफलका लागि कुर्दै गर्दा एकाएक मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराइसकेको जानकारी बैठकमा रहेका एक मन्त्रीको एसएमएसबाट थाहा पाएको पनि बताए ।

‘हिजो बिहान साढे ५ बजे मलाई आज प्रधानमन्त्रीले संसद भंग गर्दै हुनुहुन्छ रे भन्ने जानकारी आयो । अनि मैले वरिष्ठ नेताहरुसँग पनि सम्पर्क गरेर आज विघटन गर्ने तयारी छ भन्ने भरपर्दो सूचना पाएँ, त्यसलाई रोक्न पर्‍यो भनियो’, प्रचण्डले हिजोको घटना ब्रिफिङ गर्दै भने, ‘प्रधानमन्त्रीलाई फोन गरेर साढे ८ बजेतिर यदि तपाईं केही सोच्दै हुनुहुन्छ भने कम्तीमा अन्तिममा तपाईं र म अलि गम्भीर ढङ्गले छलफल नगरेसम्म तपाईं निर्णय नलिनुहोला भनेँ । तर मान्नु भएन ।’
आफू बालुवाटारमा ओलीलाई भेट्न जाँदा उनी हतारहतार बैठकमा गइसकेको पाइएको र पर्खिएर बस्दा विघटन नै गरिसकेको सू्चना पाएको प्रचण्डको ब्रिफिङ थियो ।

‘बस्दा बस्दै मन्त्रिपरिषदबाट एकजना मन्त्रीले मलाई एसएमएस गर्नुभयो कि संसद विघटनको प्रस्ताव आयो भनेर । ढाँट, छल, बेइमानीको यति, यस्तो त मैले कल्पना गर्न सक्दिनँ । यस्तो पनि हुन्छ ?’
प्रचण्डले ओलीको यो कदम विरुद्ध एकजुट भएर अघि बढ्ने बताउँदै ओलीको हर्कतलाई परास्त गरि छाड्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्