
नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल नेकपाको कुनै पनि गुटको बैठकमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति सदस्यहरूको बालुवाटारमा भएको बैठकमा गौतम र थापा सहभागी भएनन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय समिति सदस्यहरूको बैठकमा पनि गौतम र थापा सहभागी नहुने बुझिएको छ ।
गौतमले पार्टी एकतामा भूमिका खेलेकाले आफु विभाजनकारी कुनै गुटमा सहभागी नहुने बताउँदै आएका छन् ।
सचिवालय बैठकमा प्रचण्ड–नेपाल समूहमा रहेका गौतम पछिल्ला भेलाहरूमा उपस्थित भएका छैनन् ।
गौतमलाई फकाउन प्रचण्ड–नेपाल समूहका नेताहरू मंगलवार उनको निवास भैँसेपाटी पुगेका थिए ।
कार्की ब्याक्वेटमा अहिले चलिरहेको स्थायी कमिटी सदस्यको भेलामा गौतम सहभागी भएका छैनन् । गौतमले प्रतिनिधि सभा विघटनको निर्णयप्रति विरोध जनाएका थिए ।
बादललाई फकाउन प्रचण्ड हिजो मन्त्री क्वार्टरमा गएका थिए ।
उनले पनि कित्ता क्लियर गरेका छैनन् । आफूपक्षीय नेताको भेलामा बादलले आफूले छिट्टै कित्ता क्लियर गर्ने बताएका थिए ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला मंगलवार दुवै पक्षका समानान्तर केन्द्रीय समिति बैठक राखिएका छन् ।
प्रचण्ड–नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्ने तयारी गरेको छ ।