
नेकपा केन्द्रीय समिति फुटको अन्तिम चरणमा रहेका बेला जिल्लातिर पनि दुई पक्ष स्पष्ट रुपमा देखिन थालेका छन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशनका लागि आयोजक कमिटी घोषणा गरेसँगै जिल्ला तहमा पनि विभाजनको रुप देखन थालेको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपा कार्यकर्ताले काभ्रेस्थित जिल्ला पार्टी कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।
जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा गएका जिल्ला नेताहरुले कार्यालय पुगेर ताला लगाएका हुन् ।
अधिकारीसँगै तालबन्दी गर्न जिल्ला कमिटी सदस्यहरु कुमार तिमल्सिना, विपिन लामा, जेनिस लामाका साथै युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियूका जिल्ला अध्यक्ष उपेन्द्र शर्मा सहभागी थिए ।
जिल्ला अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइवा प्रचण्ड–नेपाल समूहमा लागेपछि उनीहरुले पार्टी कार्यालय कब्जा गरी ताला लगाएका हुन् ।
सोमबार मात्रै अध्यक्ष चौलागाई र सचिव वाइवाले संयुक्त विज्ञप्ति निकालेका थिए ।