
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले लोकतन्त्र र राष्ट्रियता स्थापित हुने गरी चुनावमा होमिने निर्णय गरेको छ ।
प्रतिनिधिसभा विघटनलाई ओलीको बाध्यात्मक कदम भन्दै सो समूहले निकासका लागि निर्वाचनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार मंगलवार बसेको ओली पक्षीय केन्द्रीय सदस्यको बैठकले चुनावको तयारी थाल्ने निर्णय गरेको हो ।
‘पार्टी र संसदलाई देश र जनताको पीडामा नभई केही नेताका कहिल्यै सन्तुष्ट नहुने आकांक्षाको बन्धक बनाएर अगाडि बढ्न नसक्ने भएपछि गत निर्वाचनमा ६४ प्रतिशत जनसमर्थन प्राप्त दलको नेता र प्रधामनमन्त्रीको हैसियतले संसद विघटन गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भयो,’ बैठकको निष्कर्ष सुनाउँदै नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले सार्वजनिक खपतका लागि जे कुरा गरेपनि प्रतिनिधिसभा विघटनको विरोध गरेका दलले समेत चुनावको तयारी थालेको दाबी गरे । ‘कुनै पनि लोकतान्त्रिक दल निर्वाचनबाट पन्छिने कुरा हुँदैन, कसैले सार्वजनिक खपतका लागि पुनःस्थापनाको कुरा गरेपनि भित्रभित्र चुनावको तयारी गर्नुभएको जानकारी छ,’ परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले पत्रकारसँग भने ।
ओली पक्षीय केन्द्रीय सदस्यको भेलाले आगामी २०७८ मंसिर २ गतेदेखि पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । यो समूहको केन्द्रीय कमिटीको बैठक बिहीवार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।