
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनकै स्तरमा दुई समूहमा बाँडिएपछि २ नम्बर प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । कोर मधेश भनेर भनिएको २ नम्बर प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली समूह अत्यन्त कमजोर देखिएको छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह धेरै बलियो अवस्थामा छ ।
स्थायी कमिटी सदस्यहरू मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, गणेश साहदेखि मधेशका प्रभावशाली नेताहरू प्रभु साह, विश्वनाथ साह, रामचन्द्र झा, रामपृत पासवान, शत्रुघ्न महतो, भारतप्रसाद साह, अविनाश नायक, रामकुमार यादव, गोपाल ठाकुरसहित साविक नेकपाका अधिकांश केन्द्रीय कमिटी सदस्यहरू प्रचण्ड–नेपाल समूहतर्फ लागेका छन् ।
प्रदेशको राजधानी रहेको धनुषा जिल्लामा ओली समूहमा साबिक नेकपाका एक स्थायी कमिटी सदस्य रघुवीर महासेठ तथा तीन जना केन्द्रीय सदस्यहरू जुली महतो र योगनारायण यादव, हरिनारायण यादव मात्र खुलेका छन् । महासेठ प्रचण्ड–नेपाल पक्षको भेलामा सहभागी भएपनि पछि ओली क्याम्पमा फर्केका हुन् ।
साविक नेकपाको केन्द्रीय कमिटीमा धनुषाबाट कुल १५ जना केन्द्रीय सदस्य रहेकोमा ४ जना ओली समूहमा छन् भने बाँकी ११ जना प्रचण्ड—नेपाल समूहमा छन् ।
मातृका यादव, गणेश साह, रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघ्न यादव, यदुवंश झा, रत्नेश्वरलाल गोइत, श्रवण बरबरिया, बोधमाया यादव, सुधिर साह, महादेव यादवसहित ११ जना साविकका केन्द्रीय सदस्य प्रचण्ड—नेपाल समूहमा छन् ।
उता प्रदेशका शीर्ष नेताहरूमध्ये स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्यहरू सुमन प्याकुरेल, रामदयाल मण्डल, लीला श्रेष्ठ, सरोज यादव मात्र ओली समूहमा खुलेका छन् ।
साविक नेकपाको केन्द्रीय सदस्य भारतप्रसाद साहका अनुसार साविकमा कुल ६० जना केन्द्रीय सदस्यहरु २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गरेकोमा हाल बढीमा ७ जना केन्द्रीय सदस्यहरू मात्र ओली समूहमा लागेका छन् भने बाँकी ५३ जना केन्द्रीय सदस्य प्रचण्ड—नेपाल समूहमा नै छन् ।
प्रदेश सभामा पनि ओली समूह कमजोर
२ नम्बर प्रदेशको प्रदेश सभामा साविकको एमालेको २० र माओवादीका ११ गरी कुल ३१ सांसद सहित नेकपा प्रमुख प्रतिपक्षी दल रहेको थियो । स्थायी कमिटी सदस्य समेत रहेका सत्यनारायण मण्डल प्रमुख प्रतिपक्षी दल नेकपाको संसदीय दलको नेता थिए । तर, अब उनी प्रमुख प्रतिपक्षी दलको नेता नरहने प्रस्ट संकेत देखिएको प्रदेश सांसद् भारतप्रसाद साहले बताए ।
‘३१ जनामध्ये मुस्किलले ७ जना सांसदहरू ओली समूहमा हुनेछन् भने बाँकी २४ जना प्रचण्ड—नेपाल समूहमा नै छन्,’ साहले भने, ‘पार्टी विभाजन भएको अवस्थामा मण्डल अब प्रतिपक्षी दलको नेता रहनुहुने छैन, उहाँ आफ्नो दलको नेता भने बन्न सक्नुहुनेछ ।’
सांसदहरू जगतारन देवी, लगनलाल चौधरी, अनिता देवी यादव, शारदा थापा, डिल्ली उप्रेती, सुन्दरबहादुर विश्वकर्मा सहित ७ जना ओली समूहमा देखिएको भए पनि केही सनसद उताबाट प्रचण्ड–नेपाल समूहमा आउन सक्ने उनले बताए । प्रचण्ड—नेपाल समूहका तर्फबाट संसदीय दलको नेता पछि पार्टीको निर्णय अनुसार चयन हुने उनले बताए ।
यता ओली समूहका तर्फबाट संसदीय दलको नेता समेत रहेका सत्यनारायण मण्डल भने पार्टी नै विभाजन भइसके पछि संसदीय दलको नेता जानुले कुनै असर नपर्ने बताउँछन् ।
‘अहिले आफ्नो समूहमा कति जना सांसदहरू छन् भन्ने कुरा बताउन सक्ने अवस्थामा म छैन,’ मण्डलले भने, ‘म एक्लै भएपनि ओली पक्षमा रहने छु । ’