
विकसित पछिल्लो राजनीतिक घटनाक्रमका समीक्षा र प्रतिनिधि सभा विघटनबारे पार्टीको आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले प्रतिनिधि सभा विघटन र चुनाव घोषणाबारे आधिकारिक धारणा तय गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
प्रतिनिधि सभा विघटनको दिन विज्ञप्तिमार्फत विरोध जनाएपनि कांग्रेसले संस्थागत निर्णय गरेको छैन ।
प्रतिनिधि सभा पुनःस्थापनाका लागि आन्दोलन गर्ने कि चुनावको समर्थन गर्ने भन्नेमा कांग्रेसमा सदस्यहरूको धारणा फरक छ ।
मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको निर्णयको विरोध गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्य दलसँग मिलेर आन्दोलन गर्न प्रस्ताव गरेपनि देउवाले आन्दोलनबारे केही बोलेनन् ।
यसअघि कांग्रेसकै पहलमा भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त विरोध गर्ने निर्णय भएको थियो ।