२८ जेठ २०८३, बिहीबार

संसद विघटनपछि प्रहरीमा कडाइ : बिदा बस्न नपाइने, राजीनामा स्वीकृत नहुने

पुस ९, २०७७
संसद विघटनपछि प्रहरीमा कडाइ : बिदा बस्न नपाइने, राजीनामा स्वीकृत नहुने

संसद विघटन गरेर निर्वाचन घोषणा भएपछि नेपाल प्रहरी आफ्ना कर्मचारीलाई बिदा नबस्न निर्देशन दिएको छ ।

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तय गरेपछि सुरक्षा चुनौतीलाई मध्यनजर गरेर कर्मचारीलाई बिदा नबस्न निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ । 

‘संसद विघटनपछि हामीलाई बिदा नबस्न निर्देशन भएको छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने । ती प्रहरी अधिकारीका अनुसार बिदामा बसेका सबै प्रहरी कर्मचारीलाई हाजिर हुन समेत निर्देशन दिइएको छ ।

राजनीतिक गतिरोधपछि देशभर नाराबाजी, हड्ताल र विरोध जुलुसहरू हुने सम्भावना भएको र प्रहरी सुरक्षाको लागि खटिनुपर्ने भएकाले बिदा नबस्न निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै राजीनामा गरेर सेवा छाड्न लागेका प्रहरीको पनि अहिले राजीनामा स्वीकृत नहुने भएको छ । राजधानी काठमाडौं उपत्यका लगायत देशभरमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
 
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको हिंसात्मक गतिविधि नियन्त्रण र निगरानीका लागि ‘विशेष अपरेसन’हरू चलाइरहेको प्रहरी स्रोतले लोकान्तरलाई बतायो । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले भने बिदा नबस्न र राजीनामा स्वीकृतिको विषयमा औपचारिक परिपत्र नभएको बताए । ‘अहिलेसम्म बिदा र राजीनाको विषयमा औपचारिक रूपमा परिपत्र भएको छैन,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने ।

संसद विघटनपछि हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर गृह मन्त्रालयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरूलाई जिल्ला नछाड्न निर्देशन दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्