२५ जेठ २०८३, सोमबार
मन्त्रीविनाका मन्त्रालय

संसद् विघटनपछि सिहंदरबार सुनसान, अझै हटेन राजीनामा दिएका ५ मन्त्रीको नेमप्लेट !

पुस ९, २०७७
संसद् विघटनपछि सिहंदरबार सुनसान, अझै हटेन राजीनामा दिएका ५ मन्त्रीको नेमप्लेट !

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा विघटन भएपछि सिंहदरबार सुनसान देखिएको छ । 

संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएलगत्तै ७ मन्त्रीले राजीनामा दिए । ती सातै मन्त्रालय अहिले मन्त्रीविहीन छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, खानेपानी मन्त्री बिना मगर, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलन गरेर संयुक्तरूपमा राजीनामा दिएको जानकारी गराएका थिए, तर अहिलेसम्म उनीहरूको राजीनामा स्वीकृत भएको छैन ।

तीमध्ये ५ जना मन्त्रीको नेमप्लेटसम्म हटाइएको छैन भने २ जना मन्त्रीको कार्यकक्षमा भएको नाम प्लेट हटाइएको छ । 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको भने नाम प्लेट हटाएको पाइएको छ । 

निवर्तमान वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आफू अब नफर्कने भन्दै मन्त्रालयबाट बिदा लिएर गएको मन्त्रालयका एक कर्मचारीले बताए । 

‘मन्त्रीज्यूले अब मन्त्रालय आउँदिन भनेर बिदा लिएर जानुभएको छ,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘त्यही कारणले हामीले नेमप्लेट हटाएको हौं ।

सिंहदरबारका कर्मचारीहरूका अनुसार राजीनामा दिएका मन्त्रीहरू संसद् विघटन भएको दिनदेखि मन्त्रालयमा आएका छैनन् भने कर्मचारीहरू पनि मन्त्रालयमा कमै देखिन्छन् । 

मन्त्री नै भएपछि मन्त्रालयका कर्मचारी र कामको चाप पनि कम छ ।

नियमित काम रोकिएको छैन

मन्त्री नभए पनि नियमित काम नरोकिएको कर्मचारीहरूले बताएका छन् । 

सातै मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्रीहरूबाट हुने काम रोकिएता पनि अन्य नियमित कामहरू भैरहेका छन् ।

खानेपानी मन्त्रालयका एक कर्मचारी भन्छन्– ‘नियमित काम त रोकिएको छैन, मन्त्रीबाट हुने काम मात्र रोकिएको हो ।’

मन्त्रीहरूले राजीनामा दिए पनि स्वीकृत नभएका कारण मन्त्रालयको वेबसाइटबाट पनि नाम हटाइएको छैन ।

प्रधानमन्त्रीको कार्यालयको वेबसाइट र सम्बन्धित मन्त्रालयको साइटबाट मन्त्रीको नाम नहटाइएको हो ।

मन्त्री हुँदा भने मन्त्रीहरूले शपथ खाएको केही मिनेटमा नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम वेबसाइटमा अपडेट गराइएको थियो ।

मन्त्रीले मन्त्रालय छाडे पनि आसेपासेले प्रभाव जमाउन भने छाडेका छैनन् । 

खानेपानी मन्त्री बिना मगरले राजीनामा दिए पनि उनको सचिवालयका केही सदस्यले मन्त्रीको नाम बेचेर सिंहदरबारमा आफ्नो काम गराउने गरेको पाइयो ।

सिंहदरबारको सुरक्षा निकायका एक कर्मचारीका अनुसार ‘म खानेपानी मन्त्रीको सचिवालयको मान्छे मेरो यस्तो काम गरिदिनुपर्‍यो भनेर अझै भन्दैछन् । 

ती अधिकारीले ‘तपाईंको मन्त्री कार्यकक्षमै हुनुहुन्छ भने म काम गर्दिन्छु’ भनेपछि सवालजवाफ भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्