
ठूलो आवाज निकाल्ने ३४२ वटा बुटेल बाइकको साइलेन्सर निकालेर महानगरीय ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउनेका विरुद्ध विशेष अपरेशन चलाएर चर्को आवाज निकाल्ने ३४२ वटा मेटरसाइकललाई कारवाही गरेको जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणलाई अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए ।
जथाभावी रूपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले मोटरसाइकलहरूले ध्वनि प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढंगले चलाउने, जिकज्याक रूपमा चलाउने कार्यहरू कानूनविपरीत भएकाले कारवाही गरेको हो ।
यसरी गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ ।