निरन्तरको वर्षा र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबार बिहानदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरका अनुसार मंगलबार (आज) बिहान ८ बजे सडकमा बाँकी रहेको पहिरो पूर्ण रूपमा हटाएपछि सवारी आवागमन सुचारु गरिएको हो।
बिहानैदेखि भारी मेसिन तथा लोडरहरू परिचालन गरी पहिरो सफा गरिएको सडक डिभिजनले जनाएको छ। सडक खुलेसँगै लामो समयदेखि बाटोमै अलपत्र परेका यात्रु तथा सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । सडक डिभिजन भरतपुरले सडक खुले पनि जोखिम पूर्ण रूपमा हटिनसकेकाले सम्पूर्ण चालकहरूलाई लेन अनुशासनमा रहन, ओभरटेक नगर्न र सीमित गतिमा मात्र सवारी साधन चलाउन विशेष अनुरोध गरेको छ।
यसअघि लगातारको भारी वर्षाका कारण यस सडक खण्डको विभिन्न स्थानमा लेदोसहितको ठुलो पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो । सोमबार साँझ एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका सवारी साधनलाई यस खण्डमा चल्न निषेध गरेको थियो ।
प्रशासनले सडक सञ्चालनमा आए पनि मौसम प्रतिकूल नै रहेकाले यात्राको क्रममा संकट परेमा वा सहयोग आवश्यक भएमा तत्काल नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४, जिल्ला आपत्कालीन केन्द्रको १२३४ वा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न सर्वसाधारण र यातायात व्यवसायीहरूलाई अनुरोध गरेको छ।