२३ जेठ २०८३, शनिबार

‘संसदविना संसदीय दलको नेता, जनअदालत र जनसरकार बनाएजस्तो’

‘संसदविना संसदीय दलको नेता, जनअदालत र जनसरकार बनाएजस्तो’
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रचण्ड–नेपाल समूहको निर्णयलाई औचित्यहीन भनेको छ ।

संसद् विघटनसँगै संसदीय दल स्वतः निष्क्रिय भएकाले दलको नेता परिवर्तनको निर्णयको औचित्य नभएको ओली समूहको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ओलीपक्षीय केन्द्रीय समितिको बैठकपछि सो पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय जनअदालत र जनसरकार बनाएजस्तो भएको टिप्पणी गरेका हुन् ।

‘संसद् नभई संसदीय दल कहाँबाट हुन्छ ? कि त साथीहरूले भन्नुपर्‍यो संविधान मान्दैनौं, कि अदालतको निर्णय पर्खिनुपर्‍यो । यो त हिजो गाउँ–गाउँमा जनसरकार र जनअदालत बनाएको र जनअदालतको फैसलाले मृत्युदण्ड दिएजस्तो भयो,’ ज्ञवालीले भने ।

माओवादीले सशस्त्र द्वन्द्वको समयमा जनअदालत र जनसरकार बनाएको थियो । 

प्रचण्ड–नेपाल समूहका सांसदहरूको भेलाले बुधवार केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाएको दाबी गरेको थियो । 

बालुवाटारमा बसेको ओलीपक्षीय केन्द्रीय समिति बैठकले पार्टी हितविपरीतको काममा लागेको भन्दै प्रचण्डलाई दिएको कार्यकारी अध्यक्षको पद खारेज गर्ने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्