१९ असार २०८३, शुक्रबार

मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री ओली, को–को बन्दैछन् मन्त्री ?

मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री ओली, को–को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । रिक्त रहेका ७ मन्त्रालयमा ओलीले छिट्टै मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

ओलीनिकट नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले आज वा भोलिमै मन्त्रिपरिषद् विस्तारको तयारी थालेको जानकारी दिए ।

चुनावी तयारीका लागि मौजुदा मन्त्रिपरिषद्का केही सदस्य समेत फेरबदलमा पर्ने सम्भावना रहेको नेकपा स्रोतले बतायो । नेकपा ओली पक्षका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बिहीवार बताएका थिए । ‘मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ, केन्द्रीय कमिटी बैठक सकिएपछिको पहिलो काम यही हुन्छ,’ बिहीवार बालुवाटारमा बसेको नेकपा केन्द्रीय समितिको बैठकपछि ज्ञवालीले भनेका थिए ।

प्रतिनिधि सभा विघटनको भोलिपल्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका ७ मन्त्रीले राजीनामा गरेका थिए । रिक्त ७ स्थानमा नयाँ मन्त्री थपेर पुनर्गठनको तयारी भएको नेकपा स्रोतले बतायो । नेकपा स्रोतका अनुसार प्रचण्ड समूह छाडेर ओली समूहमा लागेका प्रभावशाली स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी मन्त्रिमण्डल विस्तारमा छुट्ने छैनन् ।

रिक्त सात मन्त्रालयमध्ये उनले रोजेको मन्त्रालय पाउने छन् । ऊर्जा तथा जलस्रोत, शिक्षा तथा विज्ञान प्रविधि, कृषि तथा पशुपन्छी विकास, श्रम तथा रोजगार र वन तथा वातावरण मन्त्रालय रिक्त छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्रालय रिक्त छन् । ओली पक्षमा गएका पूर्व माओवादी खेमाका चार नेतामध्ये रामबहादुर थापा र लेखराज भट्ट मन्त्री छन् ।

यसअघि संसदमा नरहेका स्थायी कमिटी सदस्य मणि थापाको पनि मन्त्री बन्ने चर्चा छ । तर उनी आफू मन्त्री बन्नका लागि ओली समूहमा नलागेको बताउँछन् ।

प्रतिनिधि सभा विघटन भएकाले सांसद नभएका नेता पनि मन्त्री बन्न पाउने छन् । यसअघि संघीय संसद्को सदस्य भएको व्यक्ति मात्र मन्त्री बन्न पाउने प्रावधान थियो । तर विघटित प्रतिनिधि सभा सदस्यमध्येबाटै मन्त्री बनाउने तयारी रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले केही नयाँ अनुहारलाई अवसर दिने सम्भावना रहेको विघटित प्रतिनिधि सभाका एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

चुनावी तयारीको विषयमा केही निर्णय लिन शुक्रवार साँझ मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्