२७ जेठ २०८३, बुधबार

अब तरकारी बजारमा पनि क्यूआर कोडमार्फत भुक्तानी, गभर्नर अधिकारीले गरे औपचारिक शुरूवात

अब तरकारी बजारमा पनि क्यूआर कोडमार्फत भुक्तानी, गभर्नर अधिकारीले गरे औपचारिक शुरूवात
तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी गर्दै गभर्नर

शुक्रवार नक्सालस्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले एक किलो अदुवा किने । 

र क्यूआर कोडमार्फत भुक्तानी गरे । एक किलो अदुवाको ८० रुपैयाँ तरकारी व्यवसायीलाई गभर्नरले क्यूआर कोडमार्फत भुक्तानी गर्दा व्यवसायी दंग थिए । 

‘अब अरूलाई पनि सकेसम्म क्यूआर कोडमार्फत नै भुक्तानी गराउनुस् है,’ व्यवसायीलाई गभर्नर अधिकारीले भन्दै थिए ।

नक्सालस्थित तरकारी बजारमा औपचारिक रुपमा क्यूआर कोडबाट भुक्तानी शुरू गर्दाको दृश्य थियो त्यो । 

यससँगै तरकारी बजारमा पनि अब ‘क्यासलेस’ भुक्तानीको औपचारिक रूपमा शुरू भएको छ । 

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको पहल तथा सानिमा बैंकको सक्रियतामा तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी शुरू गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गभर्नर अधिकारीले कोभिड १९ पश्चात नगद कारोबार डरलाग्दो भएको भन्दै अब क्यासलेस प्रविधि अपनाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘कोभिडपश्चात नगदको कारोबारमा डर भयो, त्यसपछि क्यूआर कोडको सोच आयो ।’

उनले मासिक रूपमा क्यूआर कोडको प्रयोग ३० प्रतिशतले वृद्धि भएको पाइएको बताउँदै उनले अहिले यसको प्रयोगमा व्यापकता ल्याउनुपर्नेमा जोड दिए । 

कालिमाटी तथा बल्खुस्थित तरकारी बजारसँगै देशभरका तरकारी बजारहरूमा क्यूआर कोडमार्फत भुक्तानीको शुरूवात छिट्टै गर्ने बताउँदै गभर्नर अधिकारीले भने,‘अब क्यासलेस नसकेपनि लेसक्यास बनाउन सकिन्छ, त्यसकारण यसको शुरूवात छिट्टै हुन्छ ।’

उनले डिजिटलाइजेसन पैसासँग मात्र गाँसिएको नभई मानिसहरूको भोलिको आचरणसँग पनि सम्बन्धित हुने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको डिजिटलाइजेसन सम्बन्धि भिजनलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्न बैंकहरू तत्पर रहेको बताए । 

उनले तरकारी बजारमा क्यूआर कोडको शुरूवात गरी राष्ट्र बैंकको भिजनलाई वास्तविकतामा परिणत गरेको सुनाए । उनले भने,‘बैंकहरूका लागि क्यूआर कोड सस्तो पनि पर्ने देखिन्छ ।’

उनले पछिल्लो समय बैंकहरूले डिजिटलाइजेसनमा लगानी बढाइरहेको समेत बताए । उनले भने,‘यो एक बैंकको मात्र एजेन्डा नभई मुलुककै एजेन्डा हो, यसले बैंकहरूको लागत समेत घट्छ ।’

उनले राष्ट्र बैंकको डिजिटलाइजेसन सम्बन्धि भिजनलाई कार्यान्वयनमा ल्याउन हातेमालो गर्दै अगाडि बढ्ने समेत बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्