यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले ...

रामजी ज्ञवाली
रामजी ज्ञवाली

ज्ञवाली लोकान्तरका कला र मनोरञ्जन संवाददाता हुन् ।

यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कैले कैले ...

काठमाडौंको मित्रपार्कबाट ओरालो लागेपछि बागमती किनार पुगिन्छ । बायाँ मोडिएपछि काठमाडौं महानगरपालिका–७ कुमारीगाल भेटिन्छ ।


Advertisement

कुमारीगालमा यादव खरेलको घर छ, घर अगाडिको बगैंचामा बसेर मनतातो पानी पिइरहेका छन् खरेल । साथमा केही पत्रिका छन् । केही किताब छन् । साथमा मोबाइल छ । त्यसैबेला एउटा कल बज्यो उनको मोबाइलमा ।


Advertisement

फोन उठाएर उनले आधा–एक घण्टामा आइपुग्छु भन्ने संकेत गरे । यादवले फोन राखेपछि कुरा शुरू गरे, ‘पहिला जस्तो सक्रिय त खासै छैन । तर केही कामहरू छन् । त्यसका लागि मिटिङ छ । त्यहाँ गइहाल्नुपर्नेछ ।’

७८ वर्षमा टेकेका खरेलका धेरै साथीभाइ घरमै आराम गरेर बस्छन् । कतिपय स्वर्गीय भइसके । तर खरेल भने अझै उत्तिकै सक्रिय तरिकाले जीवनयापन गरिरहेका छन् । ‘पहिलाजस्तो जिम्मेवारी काँधमै बोकेर बहन गर्न त सक्दिनँ,’ उनले थपे, ‘तर केही त्यस्ता कामहरू हुन्छन्, जहाँ म पुग्नुपर्ने हुन्छ । केही सरसल्लाह, केही सुझावका लागि पनि पुग्छु ।’


Advertisement

समय पहिलेजस्तो रहेन । खरेलले टेकेको त्यो भूमिबाट बागमती बगेको पूरै देखिन्थ्यो । हरियाली थियो वातावरण । चराचुरुङ्गीको आवाज सुनिन्थ्यो । बागमतीमा पानी बगेको आवाज घरैसम्म आउँथ्यो । उनी भन्छन्, ‘अहिले बागमतीमा त्यसरी पानी बग्दैन । बागमती बग्ने एरिया सानो हुँदै गयो । त्यहाँ बग्ने आवाज अहिले यहाँ सुन्न सकिन्न । यहाँबाट बागमती देखिन्थ्यो, अहिले सबै घरहरूले त्यो दृश्य छेकेको छन् । 

नेताहरूले देशलाई बर्बाद बनाए !

घरअघि टोलाइरहेका खरेल आज अलिकति चिन्तत छन् । देशको अवस्थ देखेर भावुक छन् । सन्ततिको भविष्यलाई लिएर सोचमग्न छन् । ‘हाम्रो त जीवन जसोतसो चल्यो, हामीपछिको पुस्ताको भविष्यलाई लिएर किन कसैलाई चिन्ता छैन ?’ उनी भन्छन्, ‘सोच्नुपर्ने, बुझिदिनुपर्नेहरूले नबुझेपछि कसको के लाग्दो रहेछ र ?’

कोरोना संक्रमणको विकराल अवस्था, सत्तारुढ नेकपाको फुट, आन्दोलन, संसद विघटन लगायतले यादव खरेलको मन दुःखेको छ । ‘कुर्चीका लागि यतिसम्म कसैले गर्छ ?’ खरेलले मोबाइल पत्रिकानिर फ्याकेर फेरि भने, ‘नेपाल बर्बाद भयो । त्यसका लागि नेपालका टाउके नेताहरू जिम्मेवार हुनुपर्छ ।’

नेपालका कुनै पनि नेतृत्वले आफूलाई खुशी नबनाएको खरेलले बताउँछन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कुनै पनि नेताले काम गर्न नसकेको गुनासो खरेलले गरे ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै चर्को विरोध भइरहेका बेला खरेलले केपी ओलीले पहिलोपटक आफ्नो विश्वास टुटाएको गुनासो गरे । ‘यो देशका लागि दुर्भाग्यपूर्ण कदम हो । वास्तवमै नेताहरूले जनताको हितका लागि केही पनि सोचेनन् । अहिले केपी ओलीले जसरी जुन कदम चाले, त्यो हरेक नेपालीका लागि दुःखी पार्ने अर्को कदम हो,’ उनले भने ।

विगतदेखि नै नेपालको नेतृत्वमा राम्रो व्यक्ति आउन नसकेको खरेलको बुझाइ छ । ‘सधै आन्दोलन, सधै भ्रष्टाचार ?’ उनी थप्छन्, ‘नेतृत्व राम्रो नहुँदा देशबाट युवा पलायन र देशको अवस्थ झन्–झन् दर्दनाक स्थितिमा पुगेको छ ।’

खरेलले बीपी र महेन्द्रजस्तै नेता त्यसपछि मुलुकले कहिल्यै नपाएको समेत गुनासो गरे । खरेलले भने, ‘कसम जति समाचार पढ्छु, जति सामाजिक सञ्जाल हेर्छु, यिनै नेताहरूको समाचार सुन्नुपर्छ । उनीहरूको चालामाला देखेर टाउको दुःखेर आउँछ ।’

एउटा सफल व्यक्तित्व

मानिसको व्यक्तित्वमा थुप्रै आयाम हुन्छन् तर सबै आयाम उतिकै सशक्त हुन्छन् भने हरेकका लागि त्यो आश्चर्यचकित पार्ने कुरा हो । यादव खरेलको एउटा पक्षको चर्चा गर्दा अर्को पक्षमाथि अन्याय हुनसक्छ ।

उनी कवि, गीतकार, मुक्तक लेखक, चलचित्र निर्माता, निर्देशक, पटकथाकार, कथानक चलचित्र लेखक, सञ्चारकर्मी, बाल साहित्य लेखकका साथै समाजसेवी समेत हुन् । 

उनी आफ्नो बलबुताले भ्याएसम्म यी सबै विधामा सक्रिय रहे, सफल रहे । खरेल भन्छन्, ‘मेरो एउटा मात्रै कुनै विधा रहेन । हरेक विधामा केही गरौं भन्ने हुन्थ्यो । हरेक विधामा चासो हुन्थ्यो । कहिल्यै अल्छी मानेर आराम गरिनँ । अनावश्यक काममा समय खर्च गरिनँ ।’

खरेलले आफ्नो जीवनको कालखण्डमा ८ वटा पुस्तक, ८ वटा बाल साहित्य तथा संगीत, १२ वटा चलचित्र, १५ वटा गीति एल्वम निकालेका छन् । उनले दर्जनौं चलचित्रका गीत समेत लेखिसकेका छन् ।

सिधै ५ कक्षामा भर्ना

काभ्रेपलाञ्चोकको खरेल थोकमा विक्रम संवत् १९९९ सालमा जन्मिएका खरेल १ कक्षामा भर्ना नभई सिधै ५ कक्षामा भर्ना भए । उनले ५ कक्षामै हो राम्रोसँग लेख्न र पढ्न शुरू गरेको । १–५ कक्षासम्म उनले किन पढेनन् ? यादव सम्झिन्छन्, ‘त्यसबेला ५ कक्षाभन्दा मुनि पढाइ नै हुँदैनथ्यो । मैले पनि धुलौटोमा निगालोको कलमले अक्षर लेख्न सिकेको हुँ ।’

काठमाडौंबाट औपचारिक पढाइ

कखरा त उनले काभ्रेमा सिके । तर औपचारिक अध्ययनको शुरूवात काठमाडौंबाट गरेका हुन् उनले । ५ कक्षामा पद्मोदय स्कूलमा भर्ना भएका उनी बिदाको समयमा काभ्रे पुग्थे । त्यसपछि सप्तरी । काभ्रे जन्मघर, सप्तरी आफन्तको घर ।

एमए अर्थशास्त्र, बीएल तथा चलचित्र निर्माण तथा निर्देशनमा डिप्लोमा गरेका खरेल पढाइमा सानैदेखि अब्बल विद्यार्थी हुन् । कतिसम्म भने उनी काभ्रे जाँदा त्यतै पढ्न स्कूल जान्थे, सप्तरी पुगेको बेला उतै स्कूल छिरिहाल्थे, त्यो पनि भर्ना भएर ।

खरेल अध्ययनमा जति तगडा थिए, त्यति भविष्यलाई लिएर अनभिज्ञ पनि । भविष्यमा के हुने र कस्तो मान्छे बन्ने भन्ने उनलाई पत्तो थिएन । पढाइको कारण थाहा नपाए पनि उनलाई बुवाआमा र आफन्तले सरकारी जागिर खानुपर्छ भनेर प्रेरणा दिन्थे । मामा घरमा दशैंको टीका लगाउन जाँदा पनि उनलाई सरकारी जागिर खानु भनेर आशिर्वाद मिल्थ्यो । उनले एसएलसीसम्मको अध्ययन पद्मोदयबाट पास गरेका हुन् । त्यसो त उनी खेलकुदमा पनि निकै अब्बल खेलाडी थिए ।

स्कूल पढ्दा उनी खेलकुद भनेपछि हुरुक्कै हुन्थे । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा भाग लिन नपाए पनि उनी त्यतिबेला आयोजना हुने देवीमाया फूटबल प्रतियोगितामा नियमित भाग लिन्थे । कतिपय खेलको उपाधि उनको टीमले हात पार्थ्यो, कतिपय गुमाउनुपर्थ्यो । तर फाइनल खेलका लागि भने उनी छानिएकै हुन्थे ।

‘फिल्म मेकिङ’ पढ्न लण्डन

खरेलले प्रविणता प्रमाणपत्र र स्नातक तहसम्मको अध्ययन त्रिचन्द्र कलेजबाट गरेका हुन् । २–२ वर्षे आईए र बीएमा उनले अर्थशास्त्र, राजनीतिशास्त्र, अंग्रेजी र नेपाली पनि पढे ।

२०२१ सालमा त्रिभुवन विश्वविद्यालयको पहिलो ब्याचका विद्यार्थी समेत रहेका खरेल त्यसपछि फिल्म सम्बन्धी अध्ययनका लागि बेलायत पुगे । यो कुरा २०२५ सालतिरको हो । त्यसपछि उनले फिल्म युनिभर्सिटीमा फिल्म मेकिङ सम्बन्धी अध्ययनको शुरूआत गरे । खरेल भन्छन्, ‘मेरो अध्ययनप्रतिको लगाब देखेर युनिभर्सिटीका प्राध्यापकले गूड लक, यू विल डु समथिङ इन योर लाइफ भन्थे ।’

९ वर्षे रेडियो नेपाल यात्रा

यादव खरेलले रेडियो नेपालमा ९ वर्ष काम गरे । बालबाटिका कार्यक्रम, अन्तर्वार्ता, प्रश्नोत्तर, काव्य–कुञ्ज कार्यक्रममार्फत उनलाई धेरैले सुन्थे । उनको आवाज सुनेर फ्यान हुन्थे धेरै ।

उनको कार्यक्रममा भाग लिन नेपालका अहिलेका चर्चित सेलिब्रेटी, राजनीतिज्ञ, व्यापारी आउँथे । खरेलले रेडियो नेपालमा मासिक ३०० रुपैयाँमा जागिर थालेका हुन् ।

‘रेडियो नेपालबाट आम्दानीभन्दा पनि धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनी भन्छन्, ‘अहिले जीवनमा मैले जे–जे कुराबाट परिचय बनाएको छु, त्यो रेडियो नेपालको पनि देन हो ।’ रेडियो नेपालमा काम गरेकै कारण साहित्य विधामा धेरै रचनाहरू जन्मिएको उनी सुनाउँछन् ।

बीबीसीको यात्रा

खरेलले चलचित्र पढ्दापढ्दै बीबीसीमा काम गर्ने ‘अफर’ पाए । ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा खरेलले बेलायतमा पढ्ने मौका पाएका थिए । त्यतिबेला बीबीसी नेपाली सेवाको प्रसारण भर्खरै मात्र शुरू भएको थियो ।

नेपाली दूतावासले ‘बीबीसीको कार्यक्रम चलाइदिनुपर्‍यो’ भनेर आफूलाई चिठी पठाएको खरेल सम्झिन्छन् । ‘रेडियो नेपालमा काम गरेको अनुभव भएकाले त्यो मौका पाएको थिएँ जस्तो लाग्छ,’ उनी सम्झन्छन्, ‘स्कलरशीपमा अरु कतै काम गर्न नपाउने भनेर छाप लगाइएको थियो । पछि दूतावास आफैंले त्यो छाप हटाएर बीबीसीमा कार्यक्रम चलाउने अवसर मिलाइदियो ।’

बीबीसीमा २ वर्ष काम गरेका उनले त्यहाँ रहँदा विश्वभरका ताजा घटनाक्रमको प्रसारण गर्थे, अन्तर्वार्ता लिन्थे । तर यो हप्तामा २ दिनको मात्रै थियो । खरेललाई त्यतिबेला लण्डनमै बस्नुपर्ने र स्थायी जागिरको ‘अफर’ आयो । खरेल जागिर छाडेर नेपाल फर्किए ।

‘त्यतिबेला लण्डन जाने, लण्डन बस्न पाए हुन्थ्यो भन्ने धेरै थियो,’ उनी भन्छन्, ‘मेरा धेरै साथीभाइहरू पनि उतै बसे । तर मैले त्यो प्रस्ताव अस्वीकार गरेर नेपाल फर्किएको हुँ ।’ नेपाल फर्किनासाथ आफ्नै पदको लागि विज्ञापन बोकेर बीबीसीको कार्यक्रम निर्माता हेदर वण्ड नेपाल आइन् । उनले पुनः खरेललाई प्रभावित पार्न खोजिन् । तर खरेलले विगत सम्झिए, ‘उनले मलाई विज्ञापन रद्द गर्छु, तिमीले नै काम गर यादव भनिन् । तर मलाई लण्डनमा बसेर बाँकी जिवन उतै कटाउने मूड चलेन ।’

राजा महेन्द्रसँग लिएको त्यो अन्तर्वार्ता

घटना ४ दशकअघिको हो । लण्डनस्थित नेपाली राजदूतावासमा सचिव ईश्वरीराज पाण्डे थिए । उनले खरेललाई ‘राजा महेन्द्र बेलायतको भ्रमणमा’ रहेको जानकारी गराए । त्यसैबेला उनले महेन्द्रको अन्तर्वार्ता लिन पाए त गज्जब हुन्थ्यो भन्ने लाग्यो । खरेलले राजासँग प्रत्यक्ष संवाद गर्नका लागि ईश्वरीराजको सहयोगमा राजाका सचिव मधुसुदन राजभण्डारीलाई सम्पर्क गरे ।

उनले भने, ‘त्यतिबेला मधुसुदनले सकारात्मक कुरा सुनाएपछि म मख्ख भएँ । सम्भावना धेरै देखें ।’ लण्डन  पुगेको ३ दिनपछि खरेललाई दिउँसो ३ बजेको समय दिएर राजाले भेट्न बोलाए ।

खरेलले राजासँग करीब ४५ मिनेट रोचक संवाद गरे । खरेलले राजासँग सोध्नका लागि तयार पारेका सबैजसो प्रश्नको सरल तरिकाले जवाफ दिएको उनले सम्झिए । ‘त्यतिबेला मैले राजा महेन्द्रसँग राजनीति र विकास तथा नेपालको भविष्यका विषयमा कुरा गरेको थिएँ,’ विगत सम्झँदै उनले भने, ‘अन्तर्वार्तापछि उहाँले नेपाल फर्केपछि मलाई भेट, नेपालमा सिनेमाको क्षेत्रमा थुप्रै काम गर्नुपर्छ भने ।’ सोही कारण पनि खरेलले त्यतिबेला बीबीसीको जागिर छाडेर पुनः लण्डन फर्किनका लागि आएका धेरै प्रस्ताव अस्वीकार गरेका थिए ।

त्यसपछि फिल्मतिर

लन्डनबाट फिल्म निर्देशन/निर्माणको अध्ययन सकेपछि खरेलले नेपाल फर्किएर चलचित्र सम्बन्धी काम थाले । २०२८ देखि २०३० सालसम्म ‘शाही नेपाल चलचित्र संस्थान’को अध्यक्ष तथा महाप्रबन्धक भएर काम गरे । व्यवस्थापनदेखि हरेक जिम्मेवारी उनकै हुन्थ्यो । तर त्यसबेला उनलाई अरु जिम्मेवारीले चलचित्र लेखन, निर्देशनमा खासै समय मिलेन ।

शाही नेपाल चलचित्र संस्थानले पहिलो फिल्म ‘मनको बाँध’ निर्माण गर्‍यो प्रकाश थापालाई मुम्बईदेखि बोलाएर । तथापि खरेलले निर्माण गरेको पहिलो चलचित्र ‘चेलीबेटी’ हो ।

रेडलाइट एरियामा सुटुक्क ...

खरेलले तयार पारेको स्क्रिप्टमा अलिकति रिस्क के थियो भने सुनेको कथालाई यथार्थमा ढाल्न जोखिमपूर्ण ठाउँमा भिडियो खिच्नुपर्ने थियो । चलचित्रका लागि भारतका विभिन्न स्थान पुग्नुपर्थ्यो । यति मात्रै होइन, उनी रेडलाइट एरियामा गएर सिन सुट गर्न तम्सिए ।

‘कलकत्ता, दिल्ली, मुम्बईका रेडलाइट एरियामा गएर बेचिएका चेलीसँग कुराकानी पनि गरें,’ उनले भने, ‘त्यहाँ उनीहरूको दुःख र वेदना सुनेर म रोएँ । नेपाली चेलीका कथालाई उठाउनुपर्छ, उनीहरूको उत्थान गर्नुपर्छ भन्ने लागेर फिल्म ‘चेलीबेटी’ बनाइयो ।’

चेलीबेटी चलचित्रको प्रदर्शनपछि खरेललाई धेरैले स्यावास समेत भनेको उनी सम्झन्छन् । ‘अहिलेजस्तो डिजिटल जमाना थिएन,’ उनी थप्छन्, ‘त्यतिबेला जसरी प्रदर्शन भयो, त्यसबाट हेर्नेहरूले कामको प्रशंसा गरेका हुन् ।’

त्यसपछि उनले लोभीपापी, आँधीबेहरी, प्रेमपिण्ड, नासो, आदिकवि भानुभक्त लगायतका चलचित्र     बनाए । कतिपय चलचित्रमा उनले आफैं गीत पनि रचना गरेका छन् । नौ घुम्ती, नौ सय खोला, टुहुरो ईश्वर, अविरल यात्रा लगायत उनका गीति एल्वम हुन् ।

दर्जनौं संघसस्थामा आवद्ध

खरेलले समाजसेवा तथा विभिन्न संघसस्थामा पनि आवद्ध रहेर काम गरे । खरेलले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्यको भूमिकामा काम गरे । नेपाल आँखा अस्पतालको संस्थापक आजीवन सदस्यदेखि अध्यक्षसम्मको भूमिकामा काम गरे उनले । नेपाल परिवार नियोजन संघमा महानिर्देशक, रेडियो नेपालमा कार्यक्रम सञ्चालक, शाही नेपाल चलचित्र संस्थानमा अध्यक्ष तथा महाप्रबन्धकसम्मको भूमिकामा काम गरेको अनुभव खरेलसँग छ ।

भगवती उच्च मावि खरेलथोकको अध्यक्ष, अधिकार सम्पन्न बागमती ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समिति, सूचना तथा सञ्चार नीति निर्धारण सुझाव परिषद्, चलचित्र विकास बोर्ड, संगीत रोयल्टी संकलन समाज, नेपाल चलचित्र कलाकार संघ, सूचना तथा सञ्चार मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, नेपाल नेसनल कलेज, धुयेत्रो साप्ताहिक, नेपा सांगीतिक संघ, वासुदेव विद्यादेव लुइँलेट पुरस्कार गुठी, महिला तथा समाज कल्याण मन्त्रालय, नेपाल विज्ञापन संघ, भगवती उच्च मावि, चलचित्र पत्रकार संघ, नातिकाजी स्मृति समाज, उत्तम कुँवर स्मारक पुरस्कार, नेपाल चलचित्र कलाकर्मी संघ, चलचित्र निर्देशक समाज, महिला तथा समाज कल्याण मन्त्रालय, रुपक स्मृति प्रतिष्ठान, राष्ट्रिय जनसंख्या आयोग, मदन पुरस्कार गुठी, नेपाल संस्कृत विश्वविद्यालय लगायत दर्जनौं संघसस्थामा विभिन्न पदमा काम गरेको अनुभव खरेलसँग छ ।

दर्जनौं पुरस्कार

खरेल नेपालका प्रतिष्ठित पुरस्कारबाट सम्मानित भइसकेका छन् । प्रख्यात त्रिशक्तिपट्ट, प्रबल गोरखा दक्षिण बाहु, श्री ५ विरेन्द्र गद्धि आरोहण रजत महोत्सव पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवी प्रकोश उद्धार पदक, महेन्द्र चलचित्र सम्मान, इमेज लाइफ टाइम एचिभमेन्ट एवार्ड, छिन्नता गीत पुरस्कार,  हिरण्कुमारी कार्की पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, पद्मोदय सम्मान, भानु प्रतिष्ठान सम्मान, स्वर सम्राट स्मृति विशेष सम्मान, इन्द्रमोहन स्मृति पुरस्कार, नातिकाजी विशेष संगीत सम्मान जस्ता दर्जनौं सम्मानबाट उनी सम्मानित भइसकेका छन् ।

विकास बोर्डमा योग्य व्यक्ति खै ?

खरेल आफैं संस्थापक अध्यक्ष रहेको चलचित्र विकास बोर्ड नाम मात्रै रहेको खरेलको बुझाइ छ । पहिले यस्तो थिएन तर अहिले के भयो ? उनी थप्छन्, ‘अहिले त राजनीति चल्यो । राजनीति जानेका चलचित्र सम्बन्धी केही कुरा थाहा नपाएका पनि अध्यक्ष रे ! अहो कस्तो दुर्भाग्यपूर्ण कुरा !’

‘बोर्डले न राष्ट्रिय चलचित्र नीति लागू गराउन पहल गरेको छ, न चलचित्रकर्मीहरूको पक्षमा केही काम गरेको छ, न त चलचित्रको बजार विस्तारका लागि नै,’ उनी थप्छन्, ‘म आफैंले बनाएका योजना समेत कार्यान्वयनमा आएका छैनन् ।’

उनले देशको भविष्य जस्तै विकास बोर्ड हिँडिरहेको प्रतिक्रिया दिए । ‘बोर्डमा किन राजनीति हावी बनाएको ?’ उनी भन्छन्, ‘यदि नेपाली चलचित्रको भविष्य उज्ज्वल गराउनु छ भने चलचित्रसँग नजिक रहेका, पढेलेखेका व्यक्ति ल्याउनुपर्छ । राजनीति गर्नेलाई अध्यक्ष बनाउनै हुन्न ।’

अबको भविष्य ?

अब आउने फागुनमा ७९ वर्षमा टेक्दैछन् खरेल । जीवनलाई फर्किएर हेर्दा व्यक्तिगत रूपमा खुशी देखिए पनि समग्र नेपालको भविष्य सोचेजस्तो नभएकोमा उनी चिन्तित छन् । खरेलले काम थालेका तर नसकिएका केही किताब, केही गीतको काम अबको १ वर्षभित्रै सक्ने गरी काम शुरू गरेका छन् । उनले अहिले निकै मेहनतका साथ दिनरात पुस्तक र गीतको काममा सक्रिय रहेको बताए ।

‘बिस्तारै काम गर्न नसकिएला भन्ने डर छ,’ उनी भन्छन्, ‘अब ८० वर्ष नजिक पुगियो । त्यसैले पनि पेन्डिङ काम सकाउनुपर्ने छ । यो वर्षभित्रै मेरा पेन्डिङ काम कम्प्लिट गर्छु ।’

संसद विघटन भयो । प्रदेश सभाका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव शुरू भएको छ, देश अब कता जान्छ भन्ने पक्का छैन । केही वर्ष राजनीति स्थायित्व होला भन्ने आम नागरिकको अनुमान विपरीत अहिले पुनः माहोल बिग्रिएको छ । 

खरेल भन्छन्, ‘आम नागरिकको भोट, विश्वासलाई जसरी एउटा कुर्चीका नेताहरूले भताभुङ्ग पारिदिएका छन्, त्यसले जनतालाई अब नेतृत्व छान्दा धेरै सचेत हुनुपर्छ भन्ने सिकाएको छ ।’

खरेलले धेरै वर्षअघि लेखेको एउटा हिट गीत पत्तोमानले गाएका थिए – यस्तो पनि हुँदो रै’छ, जिन्दगीमा कैले कैले ... । ठ्याक्कै नेपालको भविष्य पनि अहिले संकटको दिशातर्फ अघि बढिरहेको छ ।

रामजी ज्ञवाली
रामजी ज्ञवाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्