२६ जेठ २०८३, मंगलबार

गुणस्तरहीन काम गरेर भुक्तानी लिनेदिनेबाट साढे ३ करोड असुलउपर गराउन अदालतमा मुद्दा

गुणस्तरहीन काम गरेर भुक्तानी लिनेदिनेबाट साढे ३ करोड असुलउपर गराउन अदालतमा मुद्दा

बाराको बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुरमा गुणस्तरहीन काम गरेर भुक्तानी लिने ठेकेदार र भुक्तानी दिने सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जना उपर ३ करोड ६५ लाख ९ हजार रुपैयाँ बिगो कायम गरी गैरकानूनी लाभ तथा हानी गरेको सम्बन्धी मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको भन्ने उजुरी निवेदन उपर अनुसन्धान हुँदा वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तव र  इन्जिनियर पाण्डव प्रसाद देवले ‘स्टुड’ निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी स्पेशिफिकेशन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्यावियन तार प्रयोग गराउनुपर्नेमा प्रथम रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका ७ वटा बिलहरूको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी ‘स्टुड’ निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेसन बमोजिम गुणस्तरयुक्त भएको भनी इन्जिनियर पाण्डवप्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बील स्वीकृत गरी भुक्तानी गराएको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको कसुर प्रमाणित हुन आएको हुँदा निजहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो ३,६५,०९,४५६।३४ (तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैयाँ चौतीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन  र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको बिगो निजहरुबाट असुलउपर हुन मागदाबी लिइएको छ ।’
 
कम गुणस्तरको ग्यावियन तारबाट निर्मित ‘स्टुड’लाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्तीरमैनाचुली जेभीका मुख्य पार्टनर महादेव खिम्ती निर्माण सेवा प्रालिका मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र साझेदार मैनाचुली निर्माण सेवा प्रालिका मेनेजिङ्ग डाइरेक्टर मदनकुमार अधिकारी तथा ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही) विरुद्ध समेत आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्