०५ साउन २०८३, मंगलबार

उखु किसानले ३ हप्ताभित्र पाइसक्लान् सबै बक्यौता भुक्तानी ?

पुस १४, २०७७
उखु किसानले ३ हप्ताभित्र पाइसक्लान् सबै बक्यौता भुक्तानी ?

लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच ४ बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमवार भएको वार्तामा सरकारले ३ हप्ताभित्र उखु किसानको सबै बक्यौता भुक्तानी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

४ बुँदे सहमतिमा उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी मिल्सका सञ्चालकको सम्पत्ति रोक्का राख्ने, बैंक खाता बन्द गर्ने, थुनुवा पुर्जी जारी गर्ने लगायतका कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख छ ।

यसैगरी उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याबारे अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने सहमति भएको छ । समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह, कषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयका १/१ जना प्रतिनिधि, उखु किसानबाट ३ जना, चिनी उत्पादक संघका १ जना र आन्दोलनरत उखु किसान संघर्ष समितिका २ जना प्रतिनिधि रहने उल्लेख छ ।

सहमतिअनुसार अब उखु किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्य पाउनेछन् । समर्थन मूल्य र सरकारी अनुदान रकम नपाएको सम्बन्धमा सत्यतथ्य यकिन गरी सुझाव पेस गर्ने निर्णय भएको छ ।

भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबको ३ हप्ताभित्र किसानको सबै पैसा दिने सहमति भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनले निर्धारित समयमा बक्यौता भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने सहमति भएको बताए ।

लामो समयदेखि भुक्तानी नपाएपछि उखु किसानहरू गत २८ मंसिरदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत थिए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्