
वाणिज्य बैंकहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयात बापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन लागेको हो ।
अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधाका लागि राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय विभागले प्रस्ताव तयार पारेर राय तथा सुझावका लागि आह्वान पनि गरेको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने घोषणा गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयात बापतको भुक्तानी गर्ने प्रयोजनका लागि अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् ।
विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गर्न लागेको छ । कार्ड जारी गर्दा प्रयोगकर्ताको केवाईसी अद्यावधिक गरी प्यान नम्बर लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरूले कार्ड जारी गर्दाको दिनको विनिमय दरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर ५०० सम्मको कार्ड जारी गर्न सक्छन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिद गर्दा लाग्ने कर अग्रिम रूपमा कट्टा गर्नुपर्ने व्यवस्था छ ।
प्रयोगकर्ताले यस्तो सुविधा १ वर्षमा एकपटक वा पटक–पटक गरेर बढीमा अमेरिकी डलर ५०० बराबरको विदेशी मुद्रा उपभोग गर्न पाउनेछन् । प्रयोगकर्ताले नेपालको कानूनले प्रतिबन्ध नलगाएका विदेशी सेवा नेपालमा बसी अनलाइनमार्फत खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकले प्रस्तावित व्यवस्थाका सम्बन्धमा सबै सरोकारवाला व्यक्ति तथा निकायसँग आवश्यक राय, सुझाव, पृष्ठपोषण र प्रतिक्रिया पुस मसान्तसम्म दिन आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।