
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौंमा आयोजना गरेको विरोध सभा भृकुटीमण्डपमा शुरू भएको छ ।
राजधानीका विभिन्न स्थानबाट शुरू भएका जुलुस भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत भएका हुन् ।
सभामा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।
काठमाडौंमा आयोजित विरोध प्रदर्शन र सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ ।

आजको प्रदर्शनलाई सफल बनाउन प्रचण्ड–नेपाल समूहले हिजो र अस्ति कार्यकर्ता भेला आयोजना गरेको थियो ।
सभालाई प्रचण्ड–नेपाल समूहका शीर्ष र प्रभावशाली नेताहरूले सम्बोधन गर्दैछन् ।
प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन् ।
आफूपक्षीय केन्द्रीय कमिटी सदस्यको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाएको दाबी गरेको प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।











