२१ जेठ २०८३, बिहीबार

प्रदेश सरकार हेरफेरमा प्रचण्ड–नेपालसँग मिल्न देउवालाई दबाब

पुस १५, २०७७
प्रदेश सरकार हेरफेरमा प्रचण्ड–नेपालसँग मिल्न देउवालाई दबाब

नेकपामा विभाजन देखिएसँगै प्रदेश सरकार फेरबदलका लागि तानातानमा परेको प्रमुख प्रतिपक्ष कांग्रेसले कुन समूहसँग तालमेल गर्ने भन्ने निर्णय गर्न सकेको छैन ।

प्रदेश १ र वाग्मतीमा अविश्वासको प्रस्ताव दर्ता भइसके पनि प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले कांग्रेस नेताहरूले अझै केही दिन पर्ख र हेरकै स्थितिमा बस्ने जनाएका छन् ।

कांग्रेसका एक नेताका अनुसार प्रदेश सरकारमा प्रचण्ड–नेपाल कि ओलीसँग तालमेल गर्ने भन्नेमा मत बाझिएकाले कांग्रेस अल्मलिएको हो । पार्टी सभापति शेरबहादुर देउवाको भूमिका प्रस्ट नभएकाले पनि निर्णयमा पुग्न कठिनाइ परेको नेताहरूको भनाइ छ ।

सभापति देउवाको प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकटता देखिएको छ । ओलीको संसद् विघटनको कदमलाई बाहिर असंवैधानिक भने पनि भित्रभित्रै देउवाले साथ दिइरहेको पार्टीभित्रै कतिपय नेताहरूले आरोप लगाइरहेका छन् । पार्टी नेताहरूले प्रदेशमा नेकपाको प्रचण्ड–नेपाल समूहसँग मिल्नुपर्ने दबाब दिए पनि देउवा सहमत भएका छैनन् ।

संस्थापनपक्षीय नेता बालकृष्ण खाँण मुद्दाको हिसाबले दाहाल र नेपाल समूहसँग कुराकानी हुन सक्ने बताउँछन् । ‘ओलीजीले आफूले उठाएको कदमलाई असंवैधानिक भनेर रियलाइज गरे छुट्टै कुरा हो । नत्र मुद्दा मिल्नेसँगै तालमेल हुन्छ तर पार्टीमा छलफल भएको छैन,’ उनले भने ।

वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दाका हिसाबले केन्द्रदेखि प्रदेशसम्मै प्रचण्ड–नेपाल समूहसँग तालमेलमा जोड दिइरहेका छन् । संस्थापन पक्षका एक नेताले भने, ‘सभापति देउवाको कुरा बुझिनसक्नु छ । पार्टीलाई लामो समय अलमल र अनिश्चयमा राखेर किन क्षति बनाउने काम गरिराख्नुभएको छ, बुझ्न सकिएको छैन ।’


प्रदेशमा नेकपाका दुवै समूहले कांग्रेसलाई आफ्नो पक्षमा तान्ने कसरतमा छन् । केन्द्रको भूमिका प्रस्ट नहुँदा प्रदेश कांग्रेसले पनि यसबारे कुनै निर्णय गर्न सकेको छैन । सहमहामन्त्री प्रकाशशरण महतले अविश्वासको प्रस्तावको प्रक्रिया पूरा गर्न अझै एकाध महिना लाग्ने भएकाले हतार गर्नु नपर्ने बताए । नेकपालाई मिलाउन उत्तरी छिमेकीले गरिरहेको पहलको परिणाम हेर्न केही दिन कुर्नुपर्ने उनको तर्क छ । 

‘अहिले अविश्वासको प्रस्ताव दर्ता गर्नेहरू भोलि नमिल्लान् भन्न सकिन्न । पार्टी औपचारिक रूपमा विभाजित भइसकेको छैन । हामीले अहिले यसो र उसो भनेर हतारमा किन निर्णय गर्ने ?’ महतले भने ।

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका सांसदहरूले प्रदेश संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् । राई र पौडेल दुवै ओली खेमाका हुन् । प्रदेश २ बाहेकमा सरकार फेरबदलका कसरत भइरहेका छन् ।

प्रदेश १ मा माघ ७ गतेका लागि प्रदेश संसद् अधिवेशन आह्वान भइसकेको छ । अधिवेशनको पहिलो कार्यसूची नै अविश्वास प्रस्तावमाथि छलफल र मतदानको प्रक्रिया हुनेछ । प्रदेशमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने वा प्रचण्ड–नेपाल पक्षसँग मिलेर सरकार बदल्ने भन्नेमा कांग्रेस निर्णायक देखिन्छ । प्रदेश १ मा ९३ सांसद छन् । मुख्यमन्त्री राईलाई सरकार बचाउन आफ्नो पक्षमा ४७ सांसद आवश्यक पर्छ । नेकपाका सांसद ६७ जना छन् । अविश्वासको प्रस्ताव दर्ता गराउने प्रचण्ड–नेपाल पक्षका ३७ सांसद छन् । कांग्रेससँग २१ र अन्य साना दलसँग ५ सांसद छन् ।

११० सांसद भएको वाग्मतीमा नेकपाका ८० सांसद छन् । तीमध्ये अविश्वास प्रस्तावको पक्षमा ४५ सांसद देखिएका छन् । अविश्वासको प्रस्ताव पारित गराउन थप ११ सांसद आवश्यक पर्छ । कांग्रेसको २२ र अन्य साना दलका ८ सांसद छन् ।

लुम्बिनीमा पनि अविश्वास प्रस्ताव दर्ता गर्ने कसरत चलिरहेको छ । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा नेकपाका ६१ सांसद छन् । त्यसमा ओली पक्षमा ३६ र प्रचण्ड–नेपाल पक्षमा २० सांसद देखिएका छन् । ५ सांसद प्रस्ट भएका छैनन् । शंकर पोखरेललाई मुख्यमन्त्रीको पद टिकाउन ४४ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका १९, जनता समाजवादीका ६ र जनमोर्चाका १ सांसद छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा नेकपाका मात्रै ४० सांसद छन् । पार्टी फुटपछि ओली पक्षमा २७ सांसद रहेकाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नो पक्षमा बहुमत पुर्‍याउन ४ सांसद चाहिने देखिन्छ । सरकारलाई राष्ट्रिय जनमोर्चाका तीन सांसदको समेत समर्थन छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो छ । दाहाल पक्षधर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि नै पार्टीभित्र विवादको आगो सल्किएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्