
गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ ।
विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप पन्तका अनुसार विद्यालयमा आईटीसी सामग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउन्डेसन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो ।
उनले भने, “फाउन्डेसनले सबै सामग्री खरीद गरी प्रत्येक विद्यालयलाई एक÷एक थान ल्यापटप र टेलिभिजन वितरण गरेको छ ।”
ल्यापटप र टेलिभिजन खरिदका लागि गाउँपालिकाले फाउन्डेसनलाई रु पाँच लाख उपलब्ध गराएको उनले बताए ।
सामग्री खरिदका लागि आवश्यक थप रु ३० लाख फाउन्डेसनले व्यहोरेको प्रमुख पन्तको भनाइ छ ।
“कोरोना सङ्क्रमणका कारण विद्यालयमा अनलाइन कक्षाको विकास गर्नुपर्छ भन्ने अनुभूति सबैलाई भएको छ”, उनले भने, “कम्तीमा एउटा कम्प्युटर र एउटा टिभी उपलब्ध गराएका विद्यालयमा आईटीसी कक्षामा विद्यार्थीले अनलाइन प्रविधिको माध्यमबाट पढ्न पाउँछन् ।”
उनले कम्प्युटर र टेलिभिजन उपलब्ध गराएका विद्यालयहरूले अब अनलाइन प्रविधिको प्रयोग गरी भिडियोमार्फत कक्षा सञ्चालन गर्न सक्ने अवस्था भएको बताए ।
“सबै विद्यालयका एकजना शिक्षकलाई तालिमसमेत दिएर पठाइएको छ”, प्रमुख पन्तले भने ।