
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पार्टी विभाजनको कोशिश गरेपनि आफूहरूले अहिले पनि एकताको कोशिश गरिरहेको बताएका छन् ।
प्रचण्डलाई दिइएको कार्यकारी अधिकारको हैसियत खोसे पनि अध्यक्षबाट नहटाइएको उनले स्पष्ट पारे ।
प्रदेश नम्बर २ का अगुवा नेता कार्यकर्तालाई बुधवार वीरगञ्जमा सम्बोधन गर्दै महासचिव पौडेलले यसबीचमा गरेका गल्ती सच्याएर मूल पार्टीमा फर्किन आग्रह गरेका हुन् ।
‘पार्टी विभाजनका लागि प्रचण्ड नेपालले जुन कोशिश गर्नुभएको छ, एकता जोगाउन हामीले कोशिश गरेका छौं । अहिले पनि हामीले ठाउँ राखेका छौं, गैरवैधानिक ढंगले बैठक बोलाएको भनेर प्रचण्डको कार्यकारी हैसियत खोसे पनि अध्यक्षबाट अहिले पनि हटाएका छैनौं’ पौडेलले भने, ‘यसको अर्थ के भने यसबीचमा जे गल्ती गर्नुभएको छ । ती गल्तीलाई महशुस गरेर, नेतृत्वविरुद्ध लगाएको आरोपपत्रलाई फिर्ता लिनुहुन्छ भनेर आउनुस्, यो पार्टीमा अट्न सक्नुहुन्छ । आफ्ना गल्तीलाई स्वीकार गर्नुस्, तपाईंहरूका लागि अहिले पनि ठाउँ सुरक्षित गरेका छौं ।’
महासचिव पौडेलले कांग्रेस पहिलो पार्टी हुन्छ र पछिपछि हुन्छौं भन्ने खालको रुञ्चे अभिव्यक्ति नदिन प्रचण्डलाई सुझाव दिए ।
‘एउटा टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले कांग्रेस पहिलो पार्टी बन्छ, हामी प्रमुख पछिपछि हुन्छौं भन्नुभएको सुनें । यस्तो खालको रुञ्चे अभिव्यक्तिका लागि किन पार्टी विभाजन गरेको ? यही पार्टीभित्र अनुशासित भएर आफ्नो र देशको भविष्य देखेको भए, कांग्रेस पहिलो हुन्छ भन्नु पर्ने दिन आउँथ्यो ?’ पौडेलले भने ।
महासचिव पौडेलले प्रतिनिधि सभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीका लागि बाध्यकारी कदम भएको उल्लेख गर्दै पुनःस्थापना भन्दै सडक आन्दोलन गर्नुको औचित्य नभएको बताए ।