२१ जेठ २०८३, बिहीबार

नेपाल नयाँ कोरोना भाइरसको उच्च जोखिममा

पुस १६, २०७७
नेपाल नयाँ कोरोना भाइरसको उच्च जोखिममा

कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ ।

बेलायतबाट शुरू भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।

केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन ।

नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा तीव्र गतिमा सर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । चिकित्सकका अनुसार नयाँ स्वरूपको भाइरस कडा प्रकृतिको भने होइन ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस तीव्र गतिमा फैलिन्छ । उनले भने, ‘यो भाइरसले छिटो प्रभावित पार्छ । भारतसँगको खुला सिमानाका कारण नेपाल जोखिममा छ । जोखिम रोकथामका लागि सरकारले तीव्र तयारी गर्नुपर्छ ।’

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार भाइरसले पटक–पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहन्छ । उनले भने, ‘यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस होइन । भाइरस पटक–पटक म्युटेसन हुन्छन् र आफूलाई अपडेट गरिरहन्छन् । यसअघि पनि २३ पटक नोबेल कोरोना भाइरसको म्युटेसन भएको थियो । कोरोना भाइरसको त ४ हजार पटकभन्दा धेरै पटक म्युटेसन भएको छ ।’

नयाँ स्वरूपको भाइरस निकै छिटो सर्ने भएकाले नियन्त्रण गर्न गाह्रो हुने बेलायती अधिकारीले बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. पाण्डेले भने, ‘यो प्रजातिको कोरोना भाइरस नेपालमा पनि आउन सक्ने सम्भावना छ । अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुने गरेमा हामी यो भाइरसबाट बच्न सक्छौं । यसको घातक प्रभाव कम भएकाले डराउनुपर्दैन ।’ हाल सरकारले बेलायतबाट आवतजावत बन्द गरेको छ ।

आत्मानुशासन नहुँदा कोरोनाको दोस्रो लहर आउने खतरा बढेको छ । व्यक्ति स्वयं सचेत नहुँदा र सरकारले हेलचेक्र्याइँ गर्नेमाथि कारबाही नगर्दा जोखिम थप बढेको हो । केही दिनयता परीक्षण घट्दा संक्रमितको संख्या घटेको देखिएको छ ।

अहिले दैनिकजसो प्रदर्शन, जुलुस र सभा गर्न थालिएको छ । जुलुसमा कुनै व्यक्तिमा संक्रमण देखिए आम व्यक्ति प्रभावित हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जोखिम अझै कायम छ । उनले भने, ‘हिँड्दा, बस्दा र काम गर्दा एक अर्कालाई संक्रमणको आशंकामा राखेर मानिसबाट मानिसको दूरी कम्तीमा २ मिटर कायम गरौं । सधैं समुचित तरिकाले मास्क प्रयोग गरौं । हातको सरसफाइमा ध्यान दिऔं । हातले नाक, मुख र अनुहार छुने बानी हटाऔं ।’ उनले व्यक्तिको यस किसिमको बानी सुधार भए कोरोना संक्रमणबाट मात्र नभई धेरै किसिमका सरुवा रोगबाट बच्न सकिने बताए ।

बुधवार देशभर ५११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधवार ५ हजार ११० जनाको पीसीआर परीक्षण भएको छ ।

बुधवार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार ६०० जना उपचारपछि डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्