२७ जेठ २०८३, बुधबार

नेपाल एयरलाइन्समा कोरोना संक्रमित यात्रु, सँगै आएका ५४ जना क्वारेन्टीनमा

पुस १६, २०७७
नेपाल एयरलाइन्समा कोरोना संक्रमित यात्रु, सँगै आएका ५४ जना क्वारेन्टीनमा

मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधवार कोरोना पोजिटिभ भएका १ यात्रुलाई काठमाडौं ल्याएको छ ।

१४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका १ युवालाई ल्याएको हो । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए ।

जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर नेगेटिभ आएको यात्रु मात्रै जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यही अभ्यासअनुसार विदेशबाट आउने सबै यात्रुले पीसीआर गर्नुपर्ने हुन्छ । रिपोर्ट नेगेटिभ आएकालाई मात्रै जहाज चढाउनुपर्थ्यो । तर नेपाल एयरलाइन्सको आरए ४१६ जहाजले बुधवार मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ देखिएको यात्रुलाई समेत ल्याएको हो ।

पीसीआर रिपोर्ट हेर्दा पोजिटिभ देखिएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले मलेसियाबाट पोजिटिभ भएर आएकालाई भर्ना गरिएको बताए । ‘कुनै लक्षण नभएका संक्रमितको अवस्था सामान्य छ,’ उनले भने, ‘भर्ना गरेर स्वाब परीक्षण गर्न ल्याबमा पठाइसकिएको छ । रिपोर्ट आउन बाँकी छ ।’

जहाजबाट ओर्लिएर टर्मिनलभित्र छिर्नेबित्तिकै हेल्थ डेस्कमा रिपोर्ट देखाउनुपर्ने हुन्छ । ‘रिपोर्ट जाँच गर्ने क्रममा १ जना पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो,’ एक स्वास्थ्यकर्मीले भने, ‘जहाजबाट आएका यात्रुलाई पोजिटिभ देखिनेबित्तिकै हल्लीखल्ली भयो । त्यो जहाजबाट आएका यात्रुलाई छुट्टै राखेर व्यवस्थापनतिर लाग्यौं ।’

पोजिटिभ यात्रु कसरी ल्याइयो भन्ने छानबिन हुनुपर्ने स्वास्थ्य मन्त्रालयका एक चिकित्सकले बताए । ‘जहाजले नै पोजिटिभ केस ल्याएपछि थप असुरक्षित भएको छ,’ उनले भने ।

विमानमा आएका १४५ मध्ये ५४ जनालाई होटलको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई घरमा आइसोलेसन बस्नलाई पठाइएको विमानस्थल स्रोतले जनाएको छ । जहाज बुधवार बिहान पौने ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यो जहाजमा आएका यात्रु व्यवस्थापन गर्न ३ घण्टा लागेको विमानस्थलका एक सुरक्षाकर्मीले बताए ।

‘संक्रमितको नजिकको सिटमा बसेकालाई मात्रै होटलमा आइसोलेसनमा राखिएको हो,’ ती सुरक्षाकर्मीले भने । होटलको आइसोलेसनमा राखिएकाको ५ दिनपछि पीसीआर हुनेछ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्