कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’ को रकम वितरण शुरू भएको छ । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
गत हप्ता पुस १० गते शुक्रवार प्रदेश नं ४ को पर्वतमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले संयुक्तरूपमा आवेदक स्व. सन्तोष लामिछानेका बुवा दोलकराज जैसीलाई चेक हस्तान्तरण गरेका थिए ।
आईएमई पे वालेटमार्फत् रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोषको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य बैंकको छ ।
कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसूस गरी आईएमईले मृतकको परिवारको पीडामा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोषको स्थापना गरिएको आईएमईले जनाएको छ ।
साथै निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने र देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुःखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्रकै लागि अपुरणीय क्षति भएको छ ।
सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरी व्यवस्था मिलाइएको थियो ।
आफ्नो स्थापनादेखि नै रेमिट्यन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आईएमई सेन्टर सहित ७७ जिल्लाका गरी १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तबरबाट वितरण गर्दै आइरहेको छ ।