०९ असार २०८३, मंगलबार

चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम

पुस १९, २०७७
चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम

जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो ।

कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने मुख्य समस्या श्वासप्रश्वाससम्बन्धी हो । त्यसमा रुघाखोकी, नाक बन्द हुने, घाँटी दुख्ने, टन्सिल लगायतका समस्या हुन्छन् । उनका अनुसार चिसो फोक्सोसम्म पुगेपछि ब्रोनकाइटिक्स, निमोनियाको समस्या देखा पर्छ । विभिन्न प्रकारका भाइरसबाट यी रोग लाग्ने गर्दछ । श्वास नलीमा सङ्क्रमण हुने, दमको समस्या पनि हुन्छ ।

जाडोमा बालबालिकालाई झाडापखाला पनि हुने गरेको जानकारी दिँदै डा. पौडेलले रोटा भाइरसले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई सताउने गरेको जानकारी दिए । उनले भने , “सरसफाइको कमी भयो भने छालाको सङ्क्रमण हुने गर्दछ ।” चिसोमा सरसफाइको कमी हुने र छालासम्बन्धी रोगले सताउने गर्दछ । छालाको समस्यामा जुम्रा पर्ने, चायाँ पर्ने गर्छ भने कतिपय अवस्थामा सुक्खा छाला भएर पनि समस्या उत्पन्न हुन्छ । चिकित्सकले यसलाई फङ्गल सङ्क्रमण भनेका छन् ।

चिकित्सकका अनुसार जाडोको समयमा घरको भ्यालढोका बन्द गरेर राति सुत्दा थप जटिलता हुन्छ । झ्यालढोका थुनेर हिटर तापेर बस्नाले कार्बन मोनोअक्साइड हुने र मानिसको मृत्युसमेत हुने गर्दछ । हिटर तापेर बस्ने हो भने पनि हावा लाग्ने ठाउँ छोड्नुपर्ने हुन्छ । बच्चालाई धेरै तातो बनाउने क्रममा भित्रभित्रै पसिना आएर बच्चा भिज्ने र निमोनियाको समस्या देखा पर्ने हुनाले सतर्कता अपनाउनुपर्ने विज्ञहरू सुझाउँछन् ।

कोरोना भाइरसको जोखिम पनि छँदैछ । कुनै व्यक्तिलाई सङ्क्रमण छ भने ती व्यक्तिबाट टाढै रहनुपर्छ । बच्चालाई जलविनियोजन हुने सम्भावना हुन्छ । बच्चाको मिर्गौलासमेत फेल हुने अवस्था आउन सक्ने औँल्याइएको छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाका अनुसार निमोनिया जाडोबाहेकको अन्य समयमा समेत हुन सक्छ तर जाडोमा बालबालिकालाई निमोनियाको उच्च जोखिम हुन्छ ।

निमोनियाबाट बच्न पोषणमा ध्यान दिनुपर्नेमा जोड दिँदै डा. धाख्वाले छ महिनासम्मको बच्चालाई अनिवार्य स्तनपान गराउन सुझाव दिए । यस्तै सन्तुलित आहार खुवाउने, आमाले सरसफाइमा ध्यान दिने, भीडभाडबाट समेत टाढै रहन उनले सुझाव दिए । चिकित्सकको सुझावअनुसार बालबालिकालाई उमेरअनुसार खोप लगाउनुपर्छ । निमोनियाविरुद्धको खोप लगाउनुपर्छ । रुघाखोकी लागेको मानिसबाट टाढा बस्नुपर्छ ।

यतिखेर विद्यालय बन्द भएर वा कोरोनाले गर्दा अस्पतालमा आउने बालबालिका कम मात्रामा आउने गरेको भन्दै डा. पौडेलले कोरोनापछि हुने समस्याले गर्दा बालबालिका अस्पताल आउन थालेको जानकारी दिए । भाइरस सङ्क्रमणपछि रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र निमोनिया देखिने उनको भनाइ छ । बालबालिकालाई निमोनिया भयो भने जाडो मौसममा अरू पनि जटिलता थपिने हुँदा अभिभावक विशेष चनाखो हुनुपर्छ ।

कान्ति अस्पतालमा अहिले दैनिक तीन सय बिरामी आउने गरेका छन् । बाहिरबाट ‘रिफर’ भएका बिरामी, रक्तअल्पता, ज्वरो, मिर्गौलाका बिरामी, कोभिडपछि जटिल समस्या लिएर बिरामी अस्पताल आउने गरेका छन् । यस्तै जाडोमा श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ज्वरो आई श्वासप्रश्वासमा समस्या आएमा चिकित्सकले निमोनियाको सङ्केत भएको भनी छातीको एक्सरे, रगत परीक्षण गरेर छातीको समस्याका लागि निमोनियाको औषधि दिने गरेका छन् ।

“यस्तो गर्नु आवश्यक छैन,” डा. धाख्वा भन्छन्, “समस्या एउटा उपचार अर्काे हुँदा समस्याको जड त पत्ता लगाउन सकिन्न नै, यसबाट समय र पैसासमेत खेर गइरहेको छ ।” नेपालमा पनि बालबालिकामा ‘ब्रोनकाइटिक्स’को समस्या धेरै छ । उनले ब्रोनकाइटिक्स समस्यालाई निगरानीमार्फत नै निको पार्न सकिने बताए ।

जाडोयाममा अस्पताल भर्ना भएका अधिकांश बिरामी बालबालिकामा यही समस्या हुने गर्दछ । एक वर्षमुनिका ९० प्रतिशत बालबालिका ब्रोनकाइटिक्स समस्याबाट ग्रसित हुने गरेका छन् । अहिले अस्पतालमा भर्ना भएकामध्ये अधिकांश बालबालिका ब्रोनकाइटिक्स समस्याबाट पीडित भएका नै छन् ।

बच्चालाई ज्वरो आउनु, रुघाखोकी लाग्नु, फोक्सो खुम्ची सास फेर्न गाह्रो हुनु, कोखा हान्नु ब्रोनकाइटिक्सका लक्षण हुन् । जाडोमा बच्चालाई न्यानोमा राख्ने, आमाको दूध खुवाउने, भीड र प्रदूषणबाट बच्चालाई टाढा राख्ने, अक्सिजनको मात्रा जाँच्न उचित निगरानीमा राख्ने, नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्