
चीनले अद्भुत रूपमा आर्थिक प्रगति गरेर प्रभाव विस्तार गरेपछि अमेरिका नेतृत्वको पश्चिम आफूलाई जोखिममा परेको अनुभव गरिरहेको छ ।
यसै विषयमा प्यालेडियम नामक म्यागजिनका सम्पादक वुल्फ टिभीले स्टिफन पिमेन्टेलसँग मिलेर एउटा लामो विश्लेषण तयार पारेका छन् । त्यसको संक्षिप्त अनुवाद यहाँ प्रस्तुत गरिँदैछ ।
चीनको उदयले अमेरिका तथा पश्चिमलाई अस्तित्वमै चुनौती आइलागेको भनिँदैछ । तर अस्तित्वमा जोखिम भन्ने शब्द खतरनाक हो किनकि त्यस्तो स्थितिमा अन्य उपायले काम गरेनन् भने घातक हतियार उपयोग गर्नुपर्ने हुन्छ । त्यसैले यो शब्दावली अनावश्यक र गलत छ ।
चीन रणनीतिक शत्रु हो, सन् १९४१ को जापान जस्तो रणनीतिक जोखिम हैन । अहिलेको अवस्थालाई चित्रण गर्ने सही शब्द ‘प्रतिस्पर्धा’ हो । चीनसँग अमेरिकाको प्रतिस्पर्धाका चारवटा आयाम छन् ।
पहिलो, आर्थिक शक्ति । उत्पादन र पैसामा जसको नियन्त्रण रहन्छ, उसैले संसारका विभिन्न शक्तिको इच्छाआकांक्षालाई नियन्त्रण गर्छ । अनि त्यही उत्पादक शक्तिको उपयोग वा अनुपयोग गरी उसले सैन्य तथा अन्य रणनीतिक उद्देश्य प्राप्त गर्छ । संसारलाई आफूअनुकूल बनाउने चीनको रणनीतिको यो महत्त्वपूर्ण पाटो हो ।
उत्पादन र व्यापार, औद्योगिक गुप्तचरी, व्यापार वाणिज्यमा आधारित बेल्ट यान्ड रोड इनिसिएटिभलाई पनि यही रणनीतिले अघि बढाएको छ । त्यसो त पेट्रोडलर र उच्च प्रविधिका कतिपय क्षेत्रमा प्रभुत्वमार्फत अमेरिकाले साम्राज्यवादी रणनीति चलाइरहेको छ ।
दोस्रो, भूराजनीति शक्ति । सम्पत्तिमार्फत सैन्य शक्ति, गुप्तचरी कारवाही तथा कूटनीतिले भूराजनीतिक शक्ति प्राप्त हुन्छ । चीनले भूराजनीतिक गतिविधिमा अनुदारवाद देखाइरहेको छ र आफ्नो दाबी कायम राख्नका लागि थप आक्रामक बन्दै गइरहेको छ ।
चिनियाँ नेताहरू हङकङमा नियन्त्रण कठोर बनाउँदैछन्, अफ्रिकामा र युरेसियामा प्रभाव बढाउँदैछन् अनि अस्ट्रेलिया र क्यानडा जस्ता अमेरिकी साझेदारहरूमा पनि प्रवेश गरिरहेका छन् । चीनले अन्तर्राष्ट्रिय व्यवस्थामा अमेरिकालाई प्रतिस्थापन गर्दै अग्रणी कठोर र नरम दुवै किसिमको शक्ति बन्न खोजेको छ ।
तेस्रो, विचारधारात्मक सर्वोच्चता । चीन नाममा कम्युनिस्ट हो तर सबभन्दा महत्त्वपूर्ण कुरा ऊ अनुदारवादी हो । उसले उदारवादी मान्यता र राजनीतिक संरचना दुवैलाई अस्वीकार गरेको छ ।
चीनले देशको शासन चलाउन तथा साम्राज्य चलाउन भिन्नाभिन्नै उपाय अपनाउने गरेको छ । पश्चिमी उदारवादका चिन्तालाई दोहन गर्ने प्रयास चीनले बढाएको छ । चीनको तौरतरिकाले आधुनिक उदारवादलाई ठाडो चुनौती दिएको छ ।
चौथो, आन्तरिक चुनौती । चीन र अमेरिका दुई जँड्याहा झगडा गरे जस्ता हुन् । यिनीहरू सीधासीधा उभिन सके भने पनि आधा युद्ध जितेको मान्नुपर्छ । चीनमा जनसंख्याको विषय र राष्ट्रपति सीमा अतिकेन्द्रित शक्तिले अबको २० वर्षभित्रमा समस्या ल्याउन सक्छ ।
अमेरिकामा पनि जनसंख्याको समस्या विशेषगरी मध्यमवर्गमा बढी नै छ । सम्भ्रान्तको क्षमता ह्रास हुँदै गएको छ र राजनीति भताभुंग भएर संकटमा छ । यी दुई देशले आआफ्ना समस्या समाधान गर्न सके भने प्रतिस्पर्धामा फाइदा पुग्छ ।
अमेरिकाको पतन रोक्नका लागि शासन प्रणालीमा अनि संस्थाहरूमा आमूल परिवर्तन ल्याउन जरूरी छ । चीनको चुनौतीको सामना भन्दा पनि दीर्घकालीन रूपमा यस परियोजनालाई अघि बढाउनुपर्नेछ ।
अल्पकालीन रूपमा अमेरिकाका तीन रणनीतिक प्राथमिकता छन् :
आर्थिक शक्तिमा वृद्धि
अमेरिकाले वास्तविक उच्चस्तरीय उत्पादनतर्फ अर्थतन्त्रको दिशा परिवर्तन गर्नुपर्छ । त्यसो हुँदा प्रगति पुनः आरम्भ गर्न मद्दत गर्छ, संघर्षरत कामकाजी वर्गको उत्थान हुन्छ र चीनसँग बराबरी गर्नका लागि आर्थिक शक्ति बढाउँछ । आगामी कैयौं दशकका लागि हुने जीवन्त औद्योगिक नीति यसका लागि आवश्यक छ ।
चीन घेराउ नीतिको त्याग
संसार तीनवटा खेमामा विभाजित हुँदैछ : चीनको कट्टर समर्थक (हङकङ, इरान र शायद पाकिस्तान), पश्चिमको कट्टर समर्थक (अस्ट्रेलिया, जापान, भारत) र प्रतिस्पर्धा हुने क्षेत्र (ताइवान, पूर्वी तथा दक्षिणी अफ्रिका, शायद दक्षिण कोरिया) ।
अमेरिकाले चिनियाँ प्रभावक्षेत्रमा हस्तक्षेप गर्ने प्रयास गर्नु बेकार छ । अमेरिका पतन हुँदै जाँदा अनि चीनले प्रगति गर्दै जाँदा प्रतिस्पर्धाका क्षेत्र समेत अमेरिकाले गुमाउने सम्भावना छ ।
चीनको विचारधारात्मक सफलतालाई अंगीकार
चीनको विशाल र सक्षम जनसंख्याको विकासले नै उसलाई सफलता दिलाएको हो । तर यसमा उसको स्पष्ट र उम्दा विचारधारा पनि जिम्मेवार छ । चिनियाँहरू बलियो समाज, अर्थतन्त्र र शासनव्यवस्था बनाउन लागिरहेका छन् र त्यस लक्ष्य प्राप्तिका लागि कुन अवधारणा सबभन्दा उचित ठहर्छ भनी व्यावहारिक रूपमा खोजी गरिरहेका छन् ।
विकासको बाटोमा हिँड्ने हो भने पश्चिमले व्यावहारिक रूपमा समाज बनाउने उपाय अपनाउनुपर्छ अनि आवश्यक देखिएका स्थानमा चीनको वैध सफलताबाट सिक्नु पनि पर्छ । तर त्यसभन्दा पनि अघि बढ्नु जरूरी छ । अमेरिकालाई आवश्यक पर्ने किसिमको सभ्यता निर्माणमा चिनियाँ विचारधारा सही ठहर्दैन ।
दीर्घकालीन रूपमा पश्चिमले शासन व्यवस्था चुस्तदुरुस्त राख्न सक्यो भने मात्र चीनलाई जित्न सक्छ । सीले शासन गर्न छोडेपछि चिनियाँ कम्युनिस्ट पार्टीमा उत्तराधिकारको समस्या आउन सक्छ अनि त्यतिखेर उदीयमान पश्चिमले चीनलाई चुनौती दिन सक्छ ।
तर अर्कातर्फ चीनको समृद्धिले उसलाई विचारधारात्मक असुरक्षा तथा आत्मविश्वासको समस्याबाट मुक्त राख्छ ।
माथि उल्लेख गरिएको अल्पकालीन रणनीतिको सफल अवलम्बनविना पश्चिमले चीनलाई चुनौती दिने हैसियत राख्दैन ।