२५ जेठ २०८३, सोमबार

हाछेथुको नयाँ प्लान : ललितपुरका नगर प्रहरीलाई सवारी जाम व्यवस्थापनसम्बन्धी तालिम

पुस १९, २०७७
हाछेथुको नयाँ प्लान : ललितपुरका नगर प्रहरीलाई सवारी जाम व्यवस्थापनसम्बन्धी तालिम

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई ट्राफिक प्रहरीको तालिम दिन शुरू गरेको छ । 

ललितपुर महानगरपालिकाका नगर प्रहरीको वृत्ति विकास र दिनदिनै बढ्दै गएको सवारी जामलाई मध्यनजर गरेर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनको तालिम दिन शुरूआत गरेको हो । 

महानरपालिकाको सुन्दरतालाई बढाउनका लागि नगर प्रहरीको पनि भूमिका हुने भएकाले त्यसलाई मध्यनजर गरेर महानगरभित्रका गल्लीहरूमा ‘पिक आवर’मा ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले तालिम दिन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

‘जनताको करबाट तलब खाएपछि नगरवासीलाई सेवा दिनु हाम्रो दायित्व भएकाले थप सेवा दिन सकौं र नगरको सवारी जामलाई कम गर्न केही मद्दत होस् भन्ने हिसाबले तालिम दिन थालेको हौं,’ प्रमुख हाछेथुले लोकान्तरसँग भने, ‘यसले नगरवासीलाई थप सेवा दिन सक्छौं भन्ने हाम्रो विश्वास हो ।’

तालिममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रशिक्षक प्रहरी हवल्दार कमल कुवँरले तालिम दिनेछन् । 

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र महानगरीय ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको सल्लाहमा नगर प्रहरीलाई तालिमको आयोजना गरिएको हाछेथुले बताए । 

तालिम इन्डोर र आउटडोर गरी दिनमा १ घण्टाका दरले १५ दिनसम्म चल्ने छ । 

नगर प्रहरीलाई आउटडोरअन्तर्गत सवारीलाई कसरी रोक्ने, पास कसरी गराउने, लगायतका तालिम दिइनेछ ।

सवारी संकेत, ट्राफिक नियम, भीआईपी सवारी लगायतका विषयमा इन्डोर तालिम दिने प्रमुख हाछेथुले बताए । 

महानगरभित्र हुने जाममा ट्राफिक प्रहरीलाई सहयोग गर्नका लागि प्रमुख सीताराम हाछेथुको संयोजकत्वमा ५ सदस्यीय टोली गठन भएको छ ।

त्यो टोलीले महानगरभित्र सवारी जाम भएको ठाउँमा जाम हटाउनका लागि सहयोग गर्ने छ ।

नगर प्रहरीले फूटपाथ व्यवस्थापनमा मात्रै काम गर्ने भन्ने सोचाइलाई चिर्ने उद्देश्यले महानगरलाई कुरुप देखाउने गरी छरिएका तारहरू, सडक छेउमा रहेका मापदण्डविपरीतका मोटरसाइकल वर्कशपहरू हटाउने काम गर्दै आएको हाछेथुले बताए ।

‘हामी फूटपाथमा राखेका पसल हटाउने भन्दा पनि राख्नै नदिने अभियानमा छौं,’ उनले भने, ‘किन अरूको पैसा खेर फालिदिनु, बरू राख्नै नदिने नि !’

ललितपुर महानगरपालिकामा १५ जना महिलासहित ७३ जना नगर प्रहरी छन् जसमा २३ जना स्थायी र ५० जना अस्थायी छन् ।

मोबाइल एप ल्याउँदै नगर प्रहरी

महानगरपालिकाभित्र हुने कामलाई छिटो–छरितो गर्न र प्रविधि मैत्री बनाउनका लागि केही समयमा मोबाइल एप्स ल्याउन लागेको प्रमुख सीताराम हाछेथुले बताए । 

‘अहिले प्रविधिको जमानामा सबैलाई छिटो र छरितो रूपमा काम चाहिन्छ त्यसका लागि हामीले नगर प्रहरी एप्स ल्याउन लागेका छौं,’ प्रमुख हाछेथुले लोकान्तरसँग भने ।

एप्समा महानगरभित्र भएका तारलाई व्यवस्थापन गर्न, ढल फुटेको, फूटपाथमा पसलहरू राखेको कुरा फोटो खिचेर पठाउन सकिनेछ । त्यस्तो म्यासेज आउनसाथ नगर प्रहरी त्यसको व्यवस्थापनका लागि खटिने छ ।

salt training

कमेन्ट गर्नुहोस्