प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा पुन:स्थापना नहुने दाबी गरेका छन् ।
आफूपक्षीय अनेरास्ववियुको भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुन:स्थापनाको सम्भावना नरहेको बताएका हुन् ।
'अहिले भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाहरूको फिरादपत्र दर्ता गराएर आएको छु । जवाफ त दिनैपर्यो । चुनाव रोकी पाऊँ, मरिसकेको संसद् बौर्याउन पाऊँ भनेर मुद्दा हालिएको छ,' प्रधानमन्त्री ओलीले भने, 'संसद् पुन:स्थापना हुँदैन ।'
केही शक्तिहरूले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै समयमा हुने जिकिर गरे ।
'मैले हिजो एउटा कार्यक्रममा बोल्दा पनि भनेको थिएँ, २०२१ मा नेपालको लोकतान्त्रिक आन्दोलनमा, वामपन्थी आन्दोलनमा एउटा महान सफलता, अग्रमनको वर्ष हुनेछ । २०७८ को वैशाखमा नयाँ निर्वाचन हुनेछ । कतिपय शक्तिहरूले भ्रम फैलाउन खोजेका छन्, चुनाव हुन्न भनेर । चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टार्न, पर सार्न र अल्मल्याउन कसैले सक्नेछैन । चुनाव तोकिएकै समयमा हुन्छ ।'