
प्रहरीले काठमाडौंको टोखाबाट चरिबाघको छालासहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित ताप्लेजुङ फुङलिङका ३१ वर्षीय कमलप्रसाद सुनुवारलाई आइतबार पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले संरक्षित वन्यजन्तु चरिबाघको छाला बिक्रीवितरणका लागि झोलामा बोकेर हिँडिरहेको अवस्थामा सुनुवारलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ व्यक्तिसँग प्रहरीले २ थान छालासमेत बरामद गरेको छ । पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।