२७ असार २०८३, शनिबार
नेकपा विभाजन

लुम्बिनीमा नेकपा विभाजनपछिको सौहार्दता : एउटै कार्यालयमा आलोपालो भेला, कतै सहमतिमै खाली

पुस २७, २०७७
लुम्बिनीमा नेकपा विभाजनपछिको सौहार्दता : एउटै कार्यालयमा आलोपालो भेला, कतै सहमतिमै खाली

बुटवलस्थित पुष्पलाल स्मृति भवनमा रहेको कार्यालयमा शनिबार नेकपा (ओली समूह) ले अनेरास्ववियुको जिल्ला कमिटीको बैठक र प्रशिक्षण गर्‍यो ।

प्रशिक्षणमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल र अखिलका उपाध्यक्ष रश्मी आचार्यले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । 

सोही भवनमै दिउँसो १२ बजेबाट नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले पनि युवा तथा विद्यार्थी भेला गर्‍यो । भेलामा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङ, नेकपा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

दुवै समूहले समय विभाजन गरेर सहमतिमै समय बाँडफाँड गरेर पार्टी कार्यालय भवनमा आ–आफ्नो भेला गरेका हुन् ।

उता तिलोत्तमाको शंकर नगरमा रहेको नेकपाको अर्को पार्टी कार्यालयमा भने दुवै समूहले कुनै कार्यक्रम गरेका छैनन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला दाङमा पनि पार्टी खण्डित भएपछि कार्यालयमा दुवै समूहले आलोपालो दैनिकजसो कार्यक्रमहरू गरिरहेका छन् । 

नेकपा दाङका अध्यक्ष टीकाराम खड्का (हाल प्रचण्ड–नेपाल समूह) ले सहमतिमै आ–आफ्ना कार्यक्रम पार्टी कार्यालयबाटै भइरहेको बताए । 

नेकपा दाङको कार्यालय घोराहीमा रहेको छ । 

खड्काले लोकान्तरसँग भने, ‘दुई दिनअगाडि बिहान ओली समूहले विद्यार्थीको भेला गरेको थियो । मध्याह्न १२ बजे हामीलाई अनिवार्य छाडिदिनुपर्छ भन्यौं । त्यसपछि उनीहरू साढे ११ बजे कार्यक्रम सकेर बाहिरिए १२ बजेदेखि हामीले भेला गर्‍यौं ।’ 

खड्काले थपे, ‘जिल्लामा कार्यकर्ताहरूलाई आश्वासन देखाएर कार्यालयमा ल्याउने भेला गराउने गराउँदै विभिन्न कमिटी पुनर्गठन गरेका छ । जिल्लाका सबै कमिटी हामीसँगै छन् । हामी बलियो छौं ।’ १५५ सदस्यीय जिल्ला कमिटीमा १२० जना आफूहरूसँग भएको खड्काले दाबी गरे । 

त्यस्तै नेकपाका दुई प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट रहेको  गुल्मीको पार्टी कार्यालयमा कुनै पनि समूहले कार्यक्रम नगर्ने सहमति गरेका छन् ।

नेकपा गुल्मीका अध्यक्ष (हाल ओली समूह) मधुकृष्ण पन्थले पार्टी कार्यालयमा कुनै पनि समूहले कार्यक्रम नगर्ने सहमति गरिएको बताए ।

‘पार्टी औपचारिक विभाजन नहुँदै विवाद गर्न आवश्यक छैन भनेर पार्टी कार्यालयमा कुनै पनि समूहले कार्यक्रम नगर्ने सहमति भएको छ । कार्यक्रमहरू पार्टी प्यालेस, होटलदेखि खुला ठाउँहरूमा भएका छन्,’ पन्थले लोकान्तरसँग भने ।

नेकपा बाँकेको पार्टी कार्यालयमा पनि कुनै समूहले कार्यक्रम गरेका छैनन् । 

नेकपा बाँकेका अध्यक्ष (हाल प्रचण्ड नेपाल समूह) आईपी खरेलले पार्टी औपचारिक विभाजन नहुँदै पार्टी कार्यालय कसैले पनि हस्तक्षेप नगरौं भनेर कुनै पनि कार्यक्रम नगरिएको बताए ।

उनले लोकान्तरसँग भने, ‘बाहिर–बाहिर कार्यक्रम भएका छन् । दुवै समूहले पार्टी कार्यालयमा हस्तक्षेप गरी आफ्ना मात्रै कार्यक्रम भएका छैनन् ।’ 

ओली समूह पश्चिम नवलपरासीले पार्टी कार्यालयमा तालाबन्दी गरेर कार्यकर्ता भेला सुनवलको वनकट्टीमा मुख्यमन्त्रीलाई ल्याएर सम्पन्न गर्‍यो ।

प्रतिनिधि सभा विघटन भएको भोलिपल्ट परासीमा रहेको पार्टी कार्यालयमा ओली समूहका कार्यकर्ताहरूले कब्जा गरी तालाबन्दी गरेका थिए ।

ओली समूहका नेता तुलसी पासीले पार्टी कार्यालयलाई आफूहरूले तालाबन्दी गरेर नियन्त्रणमा राखेको बताए ।

पश्चिम नवलपरासीमा ओली समूहका नेता एवं लुम्बिनीका मुख्यमन्त्री पोखरेल, बैजनाथ चौधरी लगायतले सभा गरेर कार्यकर्तालाई एकताबद्ध बनाउन प्रयास गरिरहेका छन् ।

त्यस्तै प्रचण्ड–नेपाल समूहले पनि नेकपाका नेता तथा पूर्व कृषि मन्त्री तथा प्रभावशाली नेता बैजनाथ चौधरी, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व सांसद सीता पौडेल लगायत नेताहरू आएर कार्यकर्ता भेला गरेको नेकपा (प्रचण्ड नेपाल समूह) का नेता भविश्वर तिवारीले जानकारी दिए ।

‘जिल्ला कमिटीका १४५ जना सदस्य मध्ये ९० जना हामीसँगै हुनुहुन्छ’ तिवारीले दाबी गरे । 

पाल्पामा पनि पार्टी कार्यालय दुवै समूहले प्रयोग गरेका छैनन् । पाल्पामा नेकपाको कार्यालयमा भवन सानो छ ।

अर्घाखाँचीमा भने पार्टी कार्यालय ओली समूहले एकलौटी रूपमा कार्याक्रम गरिरहेको छ । सन्धीखर्कमा दुईतले ठूलो पार्टी कार्यालयको भवन छ । 

रूपन्देहीमा ओली समूहले अहिले विद्यार्थी संगठनको पुनर्गठनको काम सकेर क्याम्पस कमिटीमा आफ्नो समूह पुनर्गठनलाई तीव्रता दिएको छ । 

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डेले जिल्ला कमिटी गठनको काम सकेर ९० प्रतिशत क्याम्पस कमिटी गठनको काम सकिएको बताए । 

उनले भने, ‘बहुसंख्यक विद्यार्थी हामीसँगै छन् । अब बाँकी कामलाई पनि तीव्रताका साथ अगाडि बढाइएको छ ।’ 

ओली समूहले केही दिन अगाडि पार्टी कार्यालयबाहिर आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री पोखरेलले सम्बोधन गरेका थिए ।

रुपन्देहीमा नेकपा ओली पक्ष बलियो देखिएको नेताहरू बताउँछन् । 

पार्टी कार्यालय साझा सम्पत्ति भएकोले दुवै नेकपाले प्रयोग गर्न पाउनुपर्ने कार्यकर्ताहरू बताउँछन् । नेकपा विभाजन सबै तहमा पुगेको छ । अहिले दुवै समूह कार्यकर्ता तानातानमा लागेका छन् । 

युवा संघका नेता देवराज पोखरेल नेकपा मिल्नुको विकल्प नभएको बताउँछन् । 

‘नेकपा विभाजन भएर निर्वाचनमा गएर ठूलो पराजय निश्चित छ । पराजयपछि मिल्ने कि निर्वाचन अगाडि नै मिल्ने, त्यो हेर्न बाँकी छ । तर, नेकपालाई नमिली सुख नै छैन,’ उनले भने ।

लुम्बिनी प्रदेशमा नेकपाका दुवै समूहमा प्रभावशाली नेताहरू रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्