काठमाडौं, ३ जेठ– पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार भएको मतदानको मतगणना नसकिँदै नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी प्रमुख शक्तिको रुपमा उदाइसकेको दावी गरेका छन् ।
एमालेका दिवगंत नेता मदन भण्डारी र जीवराज आश्रीतको स्मृतिमा बुधबार विहान राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तापक्षीय दलहरुको घेराबन्दीका बीच पनि एमाले अगाडि आएको बताए ।
‘राज्यशक्ति र स्रोतसाधनहरुको चरम दुरुपयोग गरेर हाम्राविरुद्ध लागे पनि एमाले प्रमुख शक्तिको रुपमा उदाइसकेको छ,’ ओलीले भने, ‘धेरै ठाउँमा कांग्रेस–माओवादीहरुले बुथ कब्जा गर्दा पनि एमाले अगाडि छ ।’
एमालेबाहेक अरुलाई भोट दिनुपर्ने कारण कसैले बताउन सक्छ भने आफू बहस गर्न तयार रहेको पनि ओलीले बताए । स्थानीय चुनावको पछिल्लो मतपरिणामले एमालेको देशभक्ति सही सावित भएको ओलीको दावी छ ।