
वन मन्त्री प्रेमबहादुर आलेले जनतालाई प्रत्यक्ष राहत हुने गरी वातावरण संरक्षणका काम गर्न मातहत निकायका पदाधिकारीलाई निर्देशन दिएका छन्। मन्त्री नियुक्त भएपछि उनले आज पहिलोपटक राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री आलेले प्रकृति संरक्षण गर्न आन्तरिक तथा बाह्य लगानी भित्र्याउनका लागि मन्त्रालयले विशेष पहल गरिरहेको बताए । उनले सातै प्रदेशमा चिडियाखाना स्थापनाका लागि खाका तयार गरी सोको प्रतिवेदन मन्त्रालयमा बुझाउन कोषका पदाधिकारीलाई निर्देशन दिए ।
कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले वन्यजन्तुको संरक्षणका लागि मन्त्रालयले थप बजेटको व्यवस्थापन गर्नतर्फ विशेष पहल गर्ने आश्वासनसमेत दिए । वन्यजन्तुका कारण विभिन्न क्षेत्र तथा निकुञ्जमा मानवीय तथा अन्य भौतिक क्षति भएकाले ती क्षति रोक्नका लागि आवश्यक पहल गर्नसमेत उनले निर्देशन दिए । कोषका सदस्य–सचिव शरद अधिकारीले प्रकृति संरक्षणका लागि सरकारद्वारा प्रदान गरिने बजेट पर्याप्त नभएकाले थप बजेट विनियोजन गराउन पहल गर्नका लागि मन्त्री आलेलाई आग्रह गरे ।
मन्त्री आलेले आजै समितिको समेत अनुगमनका क्रममा नेपालका अधिकांश क्षेत्रमा चुरे दोहन भइरहेकाले त्यसको रोकथाम तथा संरक्षणका लागि पहल गर्न निर्देशन दिए ।