
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको पहिलो अध्यक्ष माधव नेपाल भएको बताएका छन् ।
माधव नेपालकै प्रमुख आतिथ्यमा प्रज्ञा भवनमा आयोजित प्रचण्ड-नेपाल समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपाल प्रचण्डसँग लागे भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचारको खण्डन गरे ।
'केपी ओलीले माधव नेपाल प्रचण्डसँग गयो, सिध्दियो भन्नुहुन्छ,' प्रचण्डले भने, 'आज एक नम्बर अध्यक्ष माधव नेपाल हुनुहुन्छ । म माधवभित्र गएँ, म माधवसँग मिलें ।'
त्यसअघि पनि उनले माधव नेपालकै प्रमुख आतिथ्यमा कार्यक्रम होस् भनेर आफूले नै चाहेको दाबी गरे । 'मिल्नेको कुरै बेग्लै हुन्छ,' प्रचण्डले भने ।
साथै प्रचण्डले अहिले आएर माधव नेपालप्रतिको आफ्नो सम्मान अझै बढेको बताए ।
पूर्व एमाले एक हुनुपर्छ भनेर ओलीले देखाएका अनेक प्रलोभनको वास्ता नगरी विधि र पद्दतिको पक्षमा माधव नेपाल सतिसाल जस्तै उभिएको प्रचण्डको टिप्पणी थियो ।
साथै प्रचण्डले जबज छाड्ने पहिलो व्यक्ति केपी ओली भएको बताए ।
पार्टी एकताका क्रममा जबज छाडेर समाजवादउन्मुख जनताको जनवादमा साइन गर्ने पहिलो व्यक्ति नै ओली भएको प्रचण्डको भनाइ छ ।