
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा ट्रम्प जुनियरले संसारका सबभन्दा धनी व्यक्ति इलोन मस्कलाई आफ्ना पितामाथि प्रतिबन्ध नलगाउने सामाजिक सञ्जाल प्ल्याटफर्म बनाउन आग्रह गरेका छन् ।
गत साता ट्रम्प समर्थकहरूले संसद् भवनमा आक्रमण गरेपछि ट्विटरले ट्रम्पमाथि स्थायी प्रतिबन्ध लगाएको थियो । त्यसपछि अन्य सामाजिक सञ्जाल प्ल्याटफर्महरूले पनि उनीमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।
जुनियर ट्रम्पले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै भने, ‘इलोन मस्कले सामाजिक सञ्जाल प्ल्याटफर्म किन नबनाएका ? उनले मानिसहरूलाई आफ्नै बलबुतामा अन्तरिक्ष पुर्याएका छन् । उनले बनाएको प्ल्याटफर्म ट्विटरभन्दा बढी प्रभावकारी हुन सक्छ ।’
उनले थपे, ‘म रूढिवादी प्ल्याटफर्म बनाउने पैरवी गरिरहेको छैन । म त हामीलाई नियन्त्रण नगर्ने हिसाबमा अन्य व्यक्तिसँग आफ्नो विचारधारा शेयर गर्ने प्ल्याटफर्म खोजिरहेको छु । इलोन, यस्तो अवधारणा सहितको प्ल्याटफर्म ल्याउनुस् । अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई बचाउने व्यक्ति तपाईं नै हुनुहुन्छ ।’
ट्रम्पले आफूमाथि प्रतिबन्ध लगाइएपछि ठूला प्रविधि कम्पनीहरूको आलोचना गरेका छन् । अनि ट्विटरका सीईओ ज्याक डोर्सीले ट्रम्पमाथि प्रतिबन्ध लगाउनु जरूरी भए पनि आफूलाई कुनै खुशी नलागेको बताएका छन् ।