०३ असार २०८३, बुधबार

जलजलामा विदेशबाट फर्केका युवालाई अनुदान

माघ ३, २०७७
जलजलामा विदेशबाट फर्केका युवालाई अनुदान

पर्वतको जलजला गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अनुदान वितरण गर्ने भएको छ । 

कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवालाई साना तथा घरेलु उद्यम, कृषि, पशुपालन, फलफूल खेती, ब्लक उद्योगलगायतका क्षेत्रमा लाग्न चाहेमा प्रविधि सहयोग गर्ने जनाइएको छ । गाउँपालिकाले युवालाई व्यवसाय सञ्चालन गर्न चाहेमा माघ १७ गतेभित्र निवेदन दिन आह्वान गरेको छ । 

जलजला गाउँपालिकामा कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवाको सङ्ख्या करिब ४०० रहेको अनुमान छ । रोजगारी गुमेर फर्केका युवालाई व्यवसाय गर्न चाहेमा योजनासहित निवेदन दिन अनुरोध गरिएको प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए। उनले विदेशबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्न अनुदानमुखी कार्यक्रम ल्याइएको बताए । तत्कालका लागि गाउँपालिकाले अनुदान वितरण गर्न रु दुई लाख उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । युवाको सङ्ख्या र मागका आधारमा अर्को वर्षदेखि बजेट बढाउने तयारी रहेको उनको भनाइ छ । 

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाले चालु वर्षको नीति तथा कार्यक्रममा युवालक्षित विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए। कतिपय युवालाई नीति तथा कार्यक्रमअनुसारको कार्यक्रमले सम्बोधन गरिने मल्लको भनाइ छ ।

गाउँपालिकाले कृषि तथा पशुपालनतर्फका कार्यक्रमबाट पनि अनुदान दिने कार्यक्रम तय गरेको उनले बताए । गाउँपालिकाले बाँझो रहेको जमिन भाडामा लिएर तरकारी तथा फलफूल खेती विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गरेको छ । यसका लागि गाउँपालिकाले सबै वडामा बाँझो रहेको र सार्वजनिक जग्गा कब्जा गरिएको बारेमा खोजी गर्न शुरु गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्