
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गत चुनावमा कांग्रेसले हारेर फाइदै भएको दावी गरेका छन् ।
शनिवार भक्तपुरको मध्यपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले चुनावमा हारेर कांग्रेसलाई फाइदा भएको सुनाउन अकबर बीरबलको कथा सुनाए –
राजा अकबर र उनका मन्त्री वीरबल एकदिन सँगै बसेर आँप खाइरहेका थिए । छुरीले आँप ताछ्दै खाँदै गरिरहेको बेला अकबरको औला छुुरीले काटेछ । राजाको औला काटेको देखेपछि हत्तपत्त रानी आएर सारीको टुक्रा च्यातेर औलामा बाँधिदिइछन् । त्यो देखेका बीरबलले भनेछन् – जे भयो महाराज ठीकै भयो । अकबरले झोक्किँदै भनेछन् – हात काटेर रगत आएको बेला ठीक भयो भन्ने ? बीरबलले फेरि भनेछन् – जे हुन्छ ठीकै हुन्छ ।
रिसाएका अकबरले सेना बोलाएर भनेछन् – टाउको तल खुट्टा माथि राखेर वीरबललाई थुन ।
भोलिपल्ल बिहान अकबर एक्लै शिकार गर्न गएको बेला वन मान्छेले पक्रेछन् । जंगलको राजाले बली चढाउन खोजेको भन्दै अकबरलाई जंगलको राजाकोमा लगेछन् । अकबरले आफू राजा भएको बताएपछि शहरको राजा शहरमा होलास् जंगलमा हुँदैन भनेर बली चढाउने ठाउँमा लगेछन् । बली चढाउने बेलामा जंगलको राजाले अकबरको हातमा काटिएको देखेपछि यो हुँदैन चोखो चाहिन्छ भनेछ । अकबरले आफूले हिजो मात्र बलि चढाएको भनेपछि उनी फुत्केर दरबार आएछन् ।
बीरबलले हिजो जे भयो ठीकै भयो भनेर ठीकै भनेको रहेछ भनेर अकबरले बीरबलसँग माफी मागेछन् । हिजो औला नकाटेको भए आज मेरो के हाल हुने रहेछ भन्दै वीरबलको खुट्टा छोएर माफ माग्दै भनेछन् – हिजो यो औला नकाटेको भए मेरो बलि दिने रहेछन् । अनि बीरबलले भनेछन् – तपाईंले मलाई थुनेर ठीक गर्नुभयो । तपाईंले मलाई नथुनेको भए शिकार खेल्ने बेला आज मेरो चिलिम फर्किने वाला थियो ।
यो कथा सुनाएर प्रवक्ता शर्माले गएको चुनावमा कांग्रेस हारेर ठीक भएको बताए । ‘हामी हारेर ठीकै भएको रहेछ, नहारेको भए कम्युनिस्ट सरकार बन्ने थिएन, कम्युनिस्ट सरकार नबनेको भए जनताको भ्रम टुट्ने थिएन । अहिले जनताले बुझ्ने अवसर पाए, त्यसैले हामीले हारेर पनि ठीकै भयो,’ शर्माले भने ।
प्रवक्ता शर्माले तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण नै सैद्धान्तिक आधार विना भएको जिकिर गरे । ‘माओवादीको डिजेल र जबजको पेट्रोल मिसाइदिएपछि गाडी सीज हुने नै थियो, अहिले त्यही भयो,’ प्रवक्ता शर्माले भने ।
प्रतिनिधिसभा विघटन गरेर देश अनिश्चयमा फसेकाले आफूहरू आन्दोलनमा आउनुपरेको उनले बताए ।