अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल समाप्त हुन केही दिन बाँकी रहँदा महत्त्वपूर्ण दस्तावेजहरू खोजी भइरहेको छ ।
तर ट्रम्पले रेकर्डहरू सही तरिकाले नराखेकाले संकलन गर्न अधिकारीहरूलाई गाह्रो परिरहेको छ ।
ट्रम्पसँग काम गरिसकेका एक अधिकारीका अनुसार, दस्तावेजहरूलाई सुरक्षित राख्ने विषयमा ट्रम्प लापरवाह रहे । उनले कागजात फ्याँक्नुअघि च्यात्ने गरेकाले ह्वाइट हाउसका अधिकारीहरूलाई च्यातिएका कागज टेपले टाँस्नका लागि घन्टौं मेहनत गर्नुपरिरहेको छ ।
ह्वाइट हाउसका पूर्व आर्काइभिस्ट सोलोमन लार्टेले भने, ‘हामीले उनलाई कैयौंपटक यसो नगर्न भनेका हौं तर उनले गरिरहे ।’
ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकका बेलामा अनुवादकले लेखेको नोट पनि नियन्त्रणमा लिएका थिए । उनले ह्वाइट हाउसमा पनि आफ्ना सहयोगीले नोट गरेकोमा हप्कीदप्की गरेका थिए ।
सोसाइटी फर हिस्टोरियन्स अफ अमेरिकन फरेन रिलेसन्सका रिचर्ड इम्मरम्यानले भने, ‘यस व्यवस्थागत कमजोरीका कारण इतिहासकारहरूलाई पछि अप्ठ्यारो पर्नेछ ।’
राष्ट्रपति दस्तावेज कानूनअन्तर्गत राष्ट्रपति अभिलेखागारको सल्लाहविना र संसद्लाई सूचना नदिइकन कुनै पनि दस्तावेज नष्ट गर्न मिल्दैन ।