
साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से हालसम्मकै सर्वाधिक धेरै उचाइमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार, आइतवार शेयर बजार मापक नेप्से परिसूचक २८.४६ अंकले बढ्दै २३१५.०० विन्दुमा पुगेको छ । जुन हालसम्मकै सर्वाधिक धेरै उचाइ हो ।
यसदिन कारोबारमा आएका जलविद्युतबाहेक सबै उपसूचक बढेका छन् ।
कूल २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आइतवार बजारमा १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।
यसदिन १६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेर सर्किट लागेको छ ।
यसदिन विशेषगरी विकास बैंक र लघुवित्तका शेयरमा बढी आकर्षण देखिएको छ ।
युनाइटेट फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।
आजको बजारमा सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भयो ।