
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्य चुस्त र दुरूस्त रूपमा सम्पन्न गर्न सक्रिय भूमिका खेल्न राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।
आयोगले आइतवार राजनीतिक दलहरूसँग छलफल गर्दै मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा केन्द्र निर्धारण सम्बन्धी कार्यमा सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको आयोगका प्रवक्ता एवम् सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
उक्त बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले २०७८ साल वैशाख १७ गते र २७ गते दुई चरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणा भएको सन्दर्भमा आयोगबाट सम्पादन हुँदै गरिएका तयारीका कार्यक्रम तथा क्रियाकलापहरूबारे अवगत गराएका थिए ।
साथै मतदाता नामावली दर्ता कार्यक्रम ७७ जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएकोमा निर्वाचनको मिति घोषणा पश्चात् कानूनी व्यवस्था वमोजिम उक्त कार्य स्थगन गरिएको समेत जानकारी दिएका थिए ।
निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थल निर्धारण कार्यविधि, २०७७, निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ र निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, २०७७ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आइसकेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा सामाजिक सञ्जाल व्यवस्थापन नीति, निर्वाचन आचारसंहिता, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका कार्यहरू अन्तिम चरणमा रहेको तथा निर्वाचन व्यवस्थापनका सबै कार्यहरू व्यवस्थित र योजनाबद्धरूपमा भइरहेको समेत बताएका थिए ।
बैठकमा ११ वटा राजनीतिक दलका प्रमुख एवम् निर्वाचन प्रतिनिधिका साथै आयोगका आयुक्तहरू, सचिव, सहसचिव लगायत उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।