२९ असार २०८३, सोमबार

गणतन्त्र ल्याउने हामी हौं, प्रतिगमनलाई सजिलै परास्त गर्छौं– पम्फा भुसाल

गणतन्त्र ल्याउने हामी हौं, प्रतिगमनलाई सजिलै परास्त गर्छौं– पम्फा भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले साढे २ सय वर्ष लामो राजतन्त्रलाई परास्त गर्ने आन्दोलनको नेतृत्व आफूहरूले गरेको भन्दै अहिलेको प्रतिगमनले पनि घुँडा टेक्ने दाबी गरेकी छिन् ।

लोकतन्त्र र संविधानको रक्षाका लागि महिलाहरू फेरि एकपटक आन्दोलनमा होमिनुपरेको उनले बताइन् ।

‘समाज विकासको नियम र हाम्रै जीवनको अनुभव हो– प्रतिक्रियावादीको हार सुनिश्चित छ । साढे २ सय वर्षको राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व गर्ने हामी हौं,’ अखिल नेपाल महिला संघको भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले भनिन्, ‘विदेशीको डिजाइनमा राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोल्ने काम भएको छ, यसलाई परास्त गर्न महिलाहरू जुरुक्क उठ्नुपर्छ ।’

प्रतिगमनलाई पराजित गरेर अग्रगमनमा जाने सुनिश्चित गर्न नसके लोकतन्त्रका लागि अर्को पुस्ताले पनि लडाईं गर्नुपर्ने दिन आउने उनले बताइन् । 

‘प्रतिनिधि सभा विघटनको प्रतिगमन, संवैधानिक कू तथा जनता र राष्ट्रका विरुद्ध गरिएको घातविरुद्ध जनता संघर्षमा छन्, सधैँ जस्तै अनेमसंघ फेरि जुरुक्क उठेर अधिकार रक्षाका निम्ति अगाडि बढ्नै पर्नेछ,’ उनले भनिन् । 

कमेन्ट गर्नुहोस्