
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेपालमा ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर प्रश्न गरेका छन् ।
अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीको बहस सुनेपछि राणाले यस्तो प्रश्न गरेका छन् ।
जवाफ दिँदै ज्ञवालीले एकपल्ट प्रधानमन्त्री भइसकेपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भए पनि कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर संविधानमा स्पष्ट नखुलाइएको बताए ।
यसअघि न्यायाधीश अनिल सिन्हाले संसदमा विश्वासको मत पाएन भने के गर्ने भनेर प्रश्न गरेका थिए ।
बहसका क्रममा अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले संविधान अनुसार प्रधानमन्त्रीभन्दा संसद बलियो रहेको र प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाइने तर्क गरेपछि न्यायाधीश सिन्हाले प्रश्न गरेका हुन् ।
बहसका क्रममा अधिवक्ता ज्ञवालीले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाइने तर्क गरेका थिए ।
त्यसपछि इजलासबाट न्यायाधीश सिन्हाले भने, ‘धारा ७६ अनुसार कुनै पनि दलले विश्वासको मत पाएन भने के गर्ने ? सानो दलले पनि विश्वासको मत पाएन भने ?’
संवैधानिक इजलासमा संविधानको व्याख्या समेत गर्नुपर्ने भएकाले सैद्धान्तिक प्रश्नमा समेत बहस भइरहेको छ ।